बेलबारीः भाउन्ने जङ्गलमा गाडीको ठक्करले हरिणको मृत्यु भएको छ । हिजो दिउँसो चार बजे पूर्वपश्चिम राजमार्ग अन्तर्गतको भाउन्ने सडक खण्डमा बाटो काट्दै गरेको हरिणलाई हायस गाडीले ठक्कर दिएको थियो ।
पूर्वबाट पश्चिम आउँदै गरेको ना.४ ख.१९३३ नम्बरको गाडीले ठक्कर दिँदा हरिणको घटनास्थलमै मृत्यु भएको हो । मृत हरिण हिजै इलाका वन कार्यालय बेलबारीमा बुझाइएको छ ।
यस अघि पनि जङ्गलमा पटकपटक जङ्गली जनावर गाडीको ठक्करले मारिने गरेका थिए । जङ्गली जनावर असुरक्षित भइरहँदा जैविक मार्गको आवश्यकताको विषयमा कुरा उठ्दै आएको छ । तर, राजमार्गमा जनावर मर्ने क्रम भने जारी छ ।