बेलबारीः डकर्मी वा अन्य बढी श्रम गर्नुपर्ने पेशामा कार्यरत महिला मजदुरले महिनावारीको समयमा पनि काम गर्नुपर्दा बढी पीडा हुने गरेको गुनासो गरेका छन् ।

काममा महिला र पुरुष बराबरी भने पनि अहिलेसम्म बराबरी ज्याला पनि पाउन नसकेको महिला श्रमिकहरूले गुनासो गरेका छन् । देशमा ठूला परिवर्तन महिलाकै कारण भए पनि सँगै काम गर्ने पुरुषको भन्दा कम ज्याला आफूहरूले पाउने गरेको महिला श्रमिकको गुनासो छ ।

‘एउटा घर बनाउन जाँदा पुरुष श्रमिकले दैनिक ८ सय रुपैयाँभन्दा बढी ज्याला पाउँछन्,’ बेलबारी–७ की देवी राईले भनिन् हामीले ४ सय ५० रुपैयाँ मात्रै पाउँछाँै ।’ पुरुषले भन्दा महिलाले बढी काम गरे पनि ज्याला भने कम हुने गरेको उनले बताइन् । ‘हामी काम गरेपछि अलमल गर्दैनौँ’, उनले भनिन्, ‘तर पुरुषले भने खैनी, चुरोट खाँदै काम गर्छन् ।’ महिलाहरूलाई सधँै हेप्ने गरेको उनको भनाइ छ ।

बेलबारीकै रञ्जु साह संविधानमा महिला पुरुष बराबरी भनिए पनि व्यवहारमा लागू नभएको बताउँछिन् । ‘व्यवहार एकातिर छ, कानुन अर्काेतिर’, उनले भनिन्, ‘हामी कार्यालयमा जानु प¥यो भने खाना आफैँ बनाएर जानुपर्छ । घरमा खाना पकाउने काम भन्नेबित्तिकै महिलाहरूको काम भन्ने बुझाइ धेरैमा छ ।’ घरबाहिरका काम पुरुषले मात्रै गर्नुपर्छ र कमाउने पुरुषहरू मात्रै हुन भन्ने भ्रमसमेत अहिलेसम्म रहेको महिला श्रमिकहरूको दुखेसो छ ।

महिनावारी भएको समयमा समेत काममा जाँदा बढी पीडा हुने गरेको भीमा घिमिरेले बताइन् ।