विराटनगरः वर्तमान सरकार श्रमिकमारा रहेको नेपाली काङ्ग्रेसका नेता कृष्ण सिटौलाले बताएका छन् ।  नेपाल ट्रेड युनियन काङ्ग्रेस मोरङ र प्रदेश नम्बर १ को आयोजनामा बुधबार विराटनगरमा भएको अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै सिटौलाले भने, ‘वर्तमान सरकारले एक वर्षको अवधिमा श्रमिकहरुले अनुभूत हुने कुनै काम गर्न सकेको छैन ।’

उनले न्यूनतम ज्यालाको माग गर्दै ३३ दिनदेखि प्रधानमन्त्रीकै गृह जिल्लामा चिया मजदुरहरु भोकभोकै आन्दोलन गरिरहँदा पनि सरकार आँखा चिम्लेर बसेको बताए ।
संविधानले गरेको व्यवस्थालाई स्वयं सरकारले नै उल्लङ्घन गरेको उनको भनाइ थियो । सिटौलाले नेपाली काङ्ग्रेसको सङ्गठन निर्माणमा ट्रेड युनियनलाई १० प्रतिशत दिइने भनी गरेको सम्झौता पूर्ण रूपमा लागू गराउने प्रतिबद्धता जनाए ।

यस्तै, नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले वर्तमान सरकार ठूलाठूला भाषणबाजीमा नै सीमित रहेको भन्दै श्रमिकका हक, अधिकार स्थापित गर्न सम्पूर्ण श्रमिक एक भएर अगाडि बढ्नुको विकल्प नरहेको बताए । वर्तमान सरकारले गरेको पछिल्लो गतिविधिले सरकार अधिनायकवादतर्फ उन्मुख भएको उनको भनाइ थियो ।

कार्यक्रममा नेपाल ट्रेड युनियन महासङ्घका उपाध्यक्ष ज्योति कोइराला, प्रदेश नम्बर १ का नेपाली काङ्ग्रेसका प्रमुख सचेतक केदार कार्की, नेपाल ट्रेड युनियन महासङ्घ प्रदेश नम्बर १ का अध्यक्ष नारायणबाबु कार्की, जिल्ला सचिव नागेश कोइराला, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली लगायतले श्रम आयोग स्थापना गर्नुपर्ने बताए । वर्तमान सरकार मजदुरमैत्री नभएको उनीहरुको आरोप थियो ।

यसअघि देवकोटा चोकबाट निस्किएको ¥याली विराटनगरको सन्सारीमाईस्थानमा आई सभामा परिणत भएको थियो । सभामा नेपाल ट्रेड युनियन काङ्ग्रेसका प्रदेश अध्यक्ष नारायणबाबु कार्की, मोरङ अध्यक्ष सुशील कोइरालालगायतले श्रमको अवमूल्यन भइरहेकोमा चिन्ता व्यक्त गरेका थिए ।