विराटनगरः प्रदेश १ को नाम र राजधानी तोक्न प्रदेशसभाबाट बैशाख १९ गतेसम्ममा प्रस्ताव गरिसक्न आह्वान गरिएकोमा प्रमुख विपक्षी काङ्ग्रेसले भने ‘पर्ख र हेर’को रणनीति अख्तियार गरेको छ ।
काङ्ग्रेस संसदीय दलको मङ्गलबार बसेको बैठकले नाम र राजधानीको टुङ्गो लगाएन । तर, सरकार वा सत्तासीन दलले ल्याउने प्रस्तावअनुसार नै आफ्नो रणनीति सार्वजनिक गर्ने तयारी काङ्ग्रेसले गरेको छ ।
बैठकको निर्णयबारे विपक्षी दलका नेता राजीव कोइरालाले भने, ‘नाम र राजधानी दुवै विषयमा हामी एक ढिक्का भएर उभिने निर्णयमा पुगेका छौंँ । सरकारले कस्तो प्रस्ताव ल्याउँछ त्यो हेर्छौँ तर सबै विकल्प खुला गरेका छौँ ।’ कोइरालाले काङ्ग्रेसले यही ठाउँ वा यो नाम भनेर अहिल्यै ‘पत्ती नखोल्ने’ जनाए ।
संसदीय दलको बैठकमा सबै २१ जना सांसदले आफ्नो धारणा राखेको प्रमुख सचेतक केदार कार्कीले जानकारी दिएका छन् । सरकारले पनि विपक्षीसँग सहमति गरेरै अगाडि बढ्ने भनेकाले अहिल्यै कुनै ठाउँ विशेष वा नाम बोकेर हिँड्दा सरकार नचिढियोस् भनेर पर्खने रणनीतिमा लागेको कार्कीले बताए । भने, ‘सरकारका मुख्यमन्त्रीले नै पहल थाल्ने भनेर भन्नुभएको थियो । हामी त्यही पर्खाइमा छौँ ।’ कार्कीले काङ्ग्रेसका सबै सांसदको धारणा एउटै ठाउँमा जाने र दलले गर्ने निर्णयमा कसैको विमति नुहने दाबी गरे ।
नेता राजीव कोइरालाले भने नेकपाको दुई तिहाई बहुमत हुँदासमेत किन एकल प्रस्ताव गर्न सकेको छैन भनेर जनस्तरमा समेत चासो रहेकाले आफूहरूले पहिल्यै निर्णय नलिएको स्पष्ट गरे । भने, ‘यो दुवै विषय निकै महत्वपूर्ण भएकाले प्रतिपक्षी अन्य दलसँग पनि छलफल हुनुपर्ने मेरो धारणा छ ।’ कोइरालाले सरकारले नै सहमति गर्छु भनेकाले उसलाई अप्ठ्यारो नपरोस् भनेर आफूहरूले पनि ठाउँ छाडिदिएको दाबी गरे ।
सरकारले बृहत विराट क्षेत्र प्रस्तावमार्फत् राजधानी तोक्न लागेको हो भने त्यो स्वीकार्य नहुने प्रमुख सचेतक कार्कीले बताए । बृहत विराट क्षेत्र विकाससम्बन्धी विधेयक प्रदेश प्रमुखबाट मङ्गलबार नै प्रमाणीकरणसमेत भइसकेको छ ।
प्रदेशसभको संशोधित नियमावलीको अनूसूची ८ मा प्रदेशको स्थायी राजधानी कुनै स्थान÷क्षेत्रमा तोक्ने व्यवस्था छ । यसलाई काङ्ग्रेसले पनि शङ्काको रूपमा हेरेको छ । कार्की भन्छन्, ‘मन्त्रालय एकातिर र प्रदेशसभा अर्कोतिर भन्ने कुरा हामीलाई मान्य छैन ।’ उनले सबै संरचना एकैतिर हुनुपर्ने आफूहरूको धारणा रहेको स्पष्ट गरे ।
बृहत विराट क्षेत्रमै पर्ने इटहरीमा प्रदेशसभा, विराटनगरमा मन्त्रालय, धरानमा प्रदेश प्रमुखको कार्यालय राख्न सकिने विषयमा उठेका चर्चाबीच विपक्षी दलहरू थप सशङ्कित बनेका हुन् । विराट क्षेत्रमा पहिले मोरङ र सुनसरीका १२ वटा पालिका रहेकोमा सत्तापक्षीय सांसदकै संशोधनका आधारमा थप ६ वटा थपिएर १८ वटा पुगेको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रीले विराट क्षेत्रको सम्बन्ध विकाससँग रहेको तर राजधानीसँग नभएको भन्दै सदनमै सांसदहरूको जिज्ञासामा प्रष्टीकरण दिएका थिए । राजधानीको दौडमा विराटनगर, इटहरी, धनकुटा र गोठगाउँ रहेका छन् । नाम भने कोशी, सगरमाथा वा किरात हुनुपर्ने आवाजहरू उठेका छन् ।