भोजपुरः पिखुवा खोला जलविद्युत आयोजनाले अर्काे सातादेखि विद्युत उत्पादन शुरु गर्ने जनाएको छ ।

आयोजनाले उत्पादन गरेको बिजुली केन्द्रीय प्रशारण लाइनमा जोडिन लागेको हो । अहिले आयोजनाको परीक्षण भइरहेको प्रवद्र्धक इष्टर्न हाइड्रो पावर कम्पनीका निर्देशक धनबहादुर श्रेष्ठले बताए । उनका अनुसार विद्युतगृहमा जडित ३ वटै युनिटको एकसाथ परीक्षण भइरहेको छ ।

उनका अनुसार आयोजनाले उत्पादन गर्ने विद्युत नेपाल विद्युत प्राधिकरणको पानीट्याङकी सबस्टेसनमा लगेर जोडिनेछ । सबस्टेसनसम्म आवश्यक ४ किलोमिटर लामो प्रशारण लाइन कम्पनीले निर्माण गरेको बताइएको छ । आयोजना साढे २ वर्षमा १ अर्ब २० करोड रुपैयाँ खर्चमा निर्माण भएको बताइएको छ ।

५ मेगावाट क्षमताको सो आयोजनामा एनएमबी बैंकको अगुवाइमा ६ बैंकले कुल लागतको ६० प्रतिशत ऋण लगानी गरेका छन् । बाँकी ४० प्रतिशत स्वपूँजी लगानी भएको आयोजनाले जनाएको छ ।