विराटनगरः प्रदेश नम्बर १ को नाम र राजधानीका लागि सहमति जुटाउन बसेको सर्वदलीय बैठक सम्पन्न भएको छ । प्रदेशका मूल मुद्दामा २ तिहाइको निर्णय भन्दा पनि सहमति जुुटाएर जाने सहमतिबमोजिम मुख्यमन्त्री शेरधन राईले प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेससहित सङ्घीय समाजवादी पार्टी, राप्रपा नेपाल र लिम्बुवान सम्बद्ध पार्टीका संसदीय दलका नेतालाई बोलाएका थिए ।
विराटनगरको बिग होटलमा झण्डै २ घण्टा बसेको बैठक स्थगित भएको छ । जसअनुसार प्रदेशको नाम र राजधानीका लागि आज संसदीय दलमा प्रस्ताव पेश गर्ने मिति ३ दिन पछि सार्ने निर्णय भएको हो । सबै पक्षबीचको साझा सहमतिले प्रदेशको मूल एजेण्डा तय गर्ने सहमति जुटेपछि नेकपाकै अन्य सांसदबीच पनि राय लिने क्रम जारी छ । बिहान सगरमाथा र कोशी पहाडी क्षेत्रका सांसदबीच राय लिइयो भने अहिले मेचीका सांसदहरूसँग नेकपाको प्रदेश हाइ कमाण्डले राय लिइरहेको छ ।
मुुख्य विपक्षी दल नेपाली काङ्ग्रेसका प्रमुख सचेतक एवम् प्रदेश सांसद केदार कार्कीले सत्ता पक्षले २ तिहाइको दम्भ नखेदाई सहमतिका आधारमा मुद्दा किनारा लगाउने बारे छलफल आह्वान भएअनुसार काङ्ग्रेस पनि लचिलो रूपमा प्रस्तुत भएको जानकारी दिए ।
लिम्बुवान सम्बद्ध दलकी नेता एवम् प्रदेश सांसद विष्णुुमाया तुुम्वाहाम्फेले यसअघि मुख्य मन्त्रीले राजधानीका लागि विराटनगर इतर विचार प्रस्तुत गरे पनि आजको बैठकमा भने विराटनगरलाई राजधानी बनाउने रायसहितको धारणा आएको जानकारी दिइन् ।
उनले प्रदेशको नामबारे सहमति नजुुटे पनि राजधानी तोकेर जानलाई थप ३ दिनको समय थप्ने निर्णय भएको बताइन् ।
जसअनुसार आज बोलाइएको नेकपा प्रदेश नम्बर १ को संसदीय दलको बैठक २२ गते १ बजेलाई तय भएको छ ।
पार्टीका प्रदेश इन्चार्ज भीम आचार्यसहित प्रदेश कमिटीका पदाधिकारी र मुुख्यमन्त्रीको उपस्थितिमा प्रदेशका विभिन्न अञ्चलका सांसदसँग छुुट्टाछुट्टै छलफल चलिरहेको छ । बिहानदेखि शुरु भएको सांसदहरूसँगको मिटिङ होटल बिगमा अहिले पनि जारी छ । अधिकांश सांसदले विराटनगरलाई राजधनी बनाउन नहुने अडानका साथ हस्ताक्षर सङ्कलन नै गरेका छन् । हिजो इटहरीमा बसेको सांसदहरूको गोप्य भेलाले ३७ सांसदको हस्ताक्षर सङ्कलन गरिसकेको छ । जुन नेकपा सांसदको बहुुमत हुन जान्छ ।