पथरीः मोरङको पथरीशनिश्चरे वडा नम्बर ५ ले आर्थिक वर्ष सकिन करीब साढे २ महिना बाँकी रहँदा ९५ प्रतिशत योजना सम्पन्न गरेको जनाएको छ ।
वडाले पत्रकार सम्मेलन आयोजना गर्दै योजना तथा बजेटका बारेमा जानकारी गराएको हो । नगरबाट विनियोजन भएको ८५ लाख सिलिङ बजेटमध्ये ६७ लाख ५० हजार विकास बजेटका लागि विनियोजन भएको थियो ।
विकास बजेटबाट जम्मा २० वटा योजना सञ्चालन गरिएकोमा ९५ प्रतिशत काम सम्पन्न भएको वडाध्यक्ष जोगबहादुर धिमालले बताए ।
२० वटामध्ये १८ वटा योजनाहरु पूर्ण रूपमा सम्पन्न भएको र २ वटा योजनाको पनि केही प्रतिशत मात्रै काम बाँकी रहेको धिमालले बताए ।
पथरी–डायनिया सडकको स्तरोन्नति र तोर्णबहादुर थापाको घर पूर्व बक्राहा पैनी मर्मत गर्ने काम मात्र सम्पन्न हुन बाँकी रहेको वडाले जनाएको छ । पथरी–डायनिया सडक स्तरोन्नतिमा सुनवर्षी नगरपालिकाको सिमाना बराल टोलदेखि हसन्दह बजार सम्मको करिब ३ किलोमिटर बाटोको काम भइरहेको बताइएको छ ।