इटहरीः अहिले इटहरीमा चर्चाको कुरा हो इटहरी तरहरा सडक एकै नासको हुँदैन । तरहरा क्षेत्रमा भएको जस्तो चौडा सडक इटहरीमा हुँदैन र सडक ६५ फिट चौडामा मात्रै हुने गरी ‘सहमति’ भयो भन्ने कुरा सामाजिक संचालमा चर्चामा छन् ।

विराटनगर–इटहरी–धरानको ४९ किलोमिटर निर्माणाधिन ६ लेन सडकमा विराटनगरबाट इटहरी सडकको मध्य भागबाट १५–१५ मिटर चौडा र इटहरी देखी तरहरा २५–२५ मिटर चौडाको पूर्व निर्णय अनुसार काम भइरहेको छ । तर, इटहरी देखी तरहराको सडकमा इटहरीको धरान लाइनमा भने यो सडक क्षेत्र अलिक साँघुरोगरि ६५ फिटको मात्रै हुने कुरा बजारमा चर्चामा छन् ।

यसै प्रशंगमा प्रदेश पोर्टलले उत्तर– दक्षिण–व्यापारिक लोकमार्ग विस्तार आयोजना निर्देशनालयको रानी विराटनगर इटहरी धरान सडक आयोजना कार्यालय इटहरीका अधिकारीसँग कुराकानी गरेको छ । आयोजनाका इन्जिनियर तथा सूचना अधिकारी उपेन्द्र दासले भने बजारमा हल्ला भएजस्तो ६५ फिटमा कुनै सहमति नभएको र हुन नसक्ने बताएका छन् ।

इटहरी देखी आपगाछी यातायात कार्यालय सम्म र यातायात कार्यालय देखी तरहरा सम्म दुई खण्डमा काम भए पनि एकै नासले काम भइरहेको दासले बताए । इटहरी देखी तरहरा सम्म ५० मिटर चौडाको सडक बन्ने र यसमा सडकको पीच भएको क्षेत्र ३३ दशमलव २० मिटर हुने दासले बताए ३३ दशमलव २० मिटर भनेको १०९ फिट हो ।

यो, १०९ फिट त सडकको पिच भएको क्षेत्र हुने भन्दै इन्जिनियर दासले यस बाहेक ३ मिटरको हरियाली क्षेत्र २ मिटरको ढल क्षेत्र हुने बताए । यसका साथै, रिटेनिङ वालको थप क्षेत्र पनि सडकमा एकै नासले अटाइने दासले बताए ।