धनकुटाः धनकुटालाई प्रदेशको राजधानी बनाउन प्रदेश सांसदहरूलाई मतदान गर्न अनुरोध गर्दै बिहीबार धनकुटामा प्रचारात्मक र्याली र अन्तक्र्रिया कार्यक्रमको आयोजना गरिएको छ ।
१ नम्बर प्रदेशको राजधानी धनकुटालाई बनाउन प्रदेश सभाका सम्पूर्ण ९३ सांसदहरूलाई आग्रह गर्दै प्रचारात्मक र्याली आयोजना गरिएको हो । प्रदेश नम्बर १ को राजधानीका लागि धनकुटा सम्पूर्ण हिसाबले उपयुक्त रहेकाले धनकुटाको पक्षमा मतदान गर्न आग्रह गरिएको हो । प्रचारात्मक र्यालीले धनकुटा बजारका विभिन्न भागको परिक्रमा गरेको थियो ।
प्रचारात्मक र्यालीपछि धनकुटा प्रादेशिक राजधानी परिचालन समितिका संयोजक सुन्दरबाबु श्रेष्ठको अध्यक्षतमा भएको छलफलले धनकुटामा बृहत र्याली निकाल्ने निर्णय गरेको हो । धनकुटालाई प्रादेशिक राजधानी बनाउनका लागि प्रदेश सभाका सांसदलाई आग्रह गर्दै बैशाख २१ गते बृहत सद्भाव र्याली निकालिने निर्णय पनि भएको छ ।
कार्यक्रममा धनकुटा उद्योग वाणिज्य सङ्घका अध्यक्ष उमेश घिमिरे, उपाध्यक्ष सीताराम श्रेष्ठ, मनकुमारी तितुङ, नेपाल पत्रकार महासङ्घ धनकुटाका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठ, घरेलु तथा साना उद्योग महासङ्घ धनकुटाका अध्यक्ष विजयसन्तोषी राईलगायत सहभागी थिए ।