इटहरी: प्रदेश १ को स्थायी राजधानीको बहस तातिरहेको बेला इटहरीको राजधानी सरोकार समाज भने अलमलमा परेको छ । इटहरीका मेयर द्वारिकलाल चौधरीको संयोजकत्वमा गठित सरोकार समाज अहिले बेखबर बनेको हो ।

जसरी भए पनि इटहरीमा प्रदेश १ को स्थायी राजधानी बनाउने योजनाका साथ २०७४ भदौमा सरोकार समाज गठन भएको थियो । नागरिक समाज इटहरीको पहलमा गठित समाजको नेतृत्व मेयर चौधरीले गर्ने निर्णय भएको थियो ।

इटहरीका राजनीतिक दलका प्रमुख तथा सङ्घसंस्थाका प्रतिनिधि सदस्य हुनेगरी समाज गठन भएको थियो । पूर्व सांसद तथा मन्त्री र बहालवाला सांसदहरू सल्लाहकार हुने गरी समाजले पूर्णता पाएको थियो ।

त्यसपछि उक्त समितिले डाक्टर उमानाथ रिजालको नेतृत्वमा सम्भाव्यता अध्ययन समिति गठन गरेको थियो । सो समितिले इटहरी हरेक हिसाबमा राजधानी बन्न उपयुक्त रहेको तर्क सार्वजनिक ग¥यो । त्यतिमात्र होइन, त्यही प्रतिवेदन लिएर इटहरीबाट नेतृत्व गर्ने प्रदेश सांसददेखि स्थानीय नेता तथा अभियन्ताहरू काठमाडौंमा डेलिगेसनसमेत गए । प्रधानमन्त्री तथा सबै दलका शीर्ष नेताहरूलाई भेटेर समितिले इटहरी राजधानी बनाउने बारेमा छलफल गरेको थियो ।

प्रदेश १ मुख्यमन्त्री शेरधन राई, प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका संसदीय दलका नेता राजीव कोइराला र सभामुख प्रदीप भण्डारी सबैलाई भेटेर उनीहरूले प्रतिवेदन बुझाएका थिए । प्रतिवेदनमा विराटनगर सुरक्षाको हिसाबमा संवेदनशील रहेको र इटहरी सुरक्षित रहेको भन्ने उल्लेख गरिएको थियो ।  

त्यतिमात्र होइन, सरोकार समाजका सचिव शैलेश बिष्टको नेतृत्वमा प्रदेश राजधानीको प्रतीकात्मक स्वरूप काठमाडांै जाने गाडीलाई पुष्पगुच्छा दिने काम भयो । राजधानीको विषय ओझेलमा परेको बेला तातिएको सरोकार समाज अहिले सेलाएको छ । केही दिनमै राजधानी टुङ्गो लगाउने गरी तयारी भइरहेको बेला इटहरीको सरोकार समाज भने मौन देखिएको छ ।

राजधानीको विषयमा स्वयम् संयोजक चौधरी नै बेखबर देखिन्छन् । ‘मलाई यस विषयमा जानकारी छैन । अहिले समाजले केही पनि गरेको छैन,’ उनले ठाडो स्वरमा भने, ‘अहिले नगरपालिकाको काममा व्यस्त छु ।’  

सहसंयोजक समीर कार्की आफू पनि निस्क्रिय रहेकाले केही थाहा नभएको बताउँछन् । उद्योग वाणिज्य सङ्घका कार्यवाहक अध्यक्ष समेत रहेका शैलेशकुमार बिष्ट हाल व्यापारीकै सङ्घको चुनावमा व्यस्त छन् । ‘सभासदहरूले इटहरीमा राजधानी आउने कुरा बताएको कारण ढुक्कले बसेका हाँै ।, उनले कोशीपत्रलाई भने, ‘हामीले सक्दो प्रयास जारी राखेका छौँ । अब निर्णय गर्नेले के गर्छन् हेर्न बाँकी छ ।’

इटहरीबाट प्रतिनिधित्व गर्ने सांसदहरूले जसरी भए पनि इटहरीलाई राजधानी बनाउने बताएका थिए । चुनावी सभालाई सम्बोधन गर्ने क्रममा नेकपाका उम्मेद्वार सर्वध्वज साँवाले आफूले जसरी भए पनि इटहरीलाई राजधानी बनाएरै छाड्ने दाबी गरेका थिए । उनका प्रतिष्पर्धी नेपाली काङ्ग्रेसका तत्कालीन प्रदेश सांसदका उम्मेद्वार हेमकर्ण पौडेलले आफूले जिते पनि हारे पनि राजधानीको लागि डटेर लाग्ने अठोट लिएका थिए ।

साँवा राजधानीको लबिङमा सक्रिय छन् । उनीसँगै सांसद लीलम बस्नेत पनि इटहरी राजधानी बनाउने नेतृत्व गरेर लबिङमा लागेका छन् ।  उनीहरूकै नेतृत्वमा बहुमत नेकपा सांसदको लिखित हस्तक्षर सङ्कलन भएको छ । उक्त समूहले विराटनगर बाहिर इटहरीकेन्द्रित राजधानी राख्नुपर्ने राय भेला पारेको हो ।

यस विषयले गर्दा विराटनगरमा २ दिनदेखि चलेको नेकपाको शीर्ष नेताको बैठक तातेको छ । सांसदहरूलाई फकाएर सर्वमान्य निर्णय गर्ने भन्दै दलका नेताहरू कसरतमा जुुटेका छन् । तर, हिजो इटहरी राजधानी बनाउँछु भन्दै अभियानमा जुुट्नेहरू भने सेलाएका छन् ।