इटहरीः बङ्गालको खाडीमा बनेको शक्तिशाली फानी चक्रवातले नेपालमा समेत प्रभाव पार्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । २ सय ४१ किलोमिटर प्रतिघण्टाको बेगमा रहेको आँधी नेपालनजिकै पूर्वोत्तर भारतबाट बङ्गलादेशतिर जाँदा कमजोर हुने भए पनि त्यसको केही प्रभाव नेपालमा पर्न सक्ने मौसम विभागले जनाएको छ ।
महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार फानीको प्रभावका कारण शुक्रवार दिउँसोदेखि पूर्वी र मध्य नेपालमा हावाहुरी आउने, चट्याङ पर्ने र वर्षा हुन सक्ने सम्भावना छ । भारतको आपतकालीन उद्दार समन्वय केन्द्रका अनुसार नेपालको पूर्वी भागमा २५ देखि १ सय मिमि पानी पर्न सक्ने जनाएको छ ।
शक्तिशाली समुद्री आँधी ‘फानी’ शुक्रबार बिहान भारतको तटवर्ती राज्य उडिसाको स्थल क्षेत्रमा प्रवेश गरिसकेको ग्लोबल डिजास्टर अलर्ट सेन्टरले जनाएको छ । आँधीको प्रभावले त्यहाँ वर्षा हुन थालिसकेको बताइएको छ ।
मौसम पूर्वानुमान महाशाखाको यस्तो छ सूचना
चक्रवात ‘फानी’ हाल बङ्गालको खाडीमा उडिसाको तटीय क्षेत्र नजिकै अवस्थित छ । आज (शुक्रबार) बाट यो प्रणाली भारतको उडिसाको तटीय क्षेत्रमा मध्याह्नतिर भित्रिने सम्भावना देखिन्छ । त्यसपछि यो प्रणाली फेरी उत्तरपूर्व दिशातर्फ जाने क्रममा कमजोर बन्दै जाने छ ।
उक्त चक्रवात नेपालतर्फ आउने सम्भावना अहिले सम्म नदेखिएता पनि यसको प्रभावबाट नेपालको पूर्वी र मध्य क्षेत्रमा आज (शुक्रबार) र भोलि (शनिबार) मौसम प्रभावित भई पूर्वी र मध्यका स्थानमा मेघ गर्जन र चट्याङ तथा हावाहुरी सहित हल्का देखि मध्यम वर्षा हुन सक्ने तथा एक दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहको छ भने हिमाली भूभागमा पनि मध्यम देखि भारी हिमपातको सम्भावना रहेको देखिन्छ ।
साथै देशको पश्चिमी क्षेत्रमा आज (शुक्रबार) पश्चिमी वायुको प्रभाव रहने हुँदा केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना देखिन्छ र हिमाली भू भागमा पनि हिमपात को सम्भावना रहेको छ । आइतबारदेखि देशभर मौसममा क्रमिक रूपमा सुधार आउने सम्भावना छ ।