विराटनगरः आवश्यक र स्पष्ट कानुनको अभावमा व्यक्तिगत घटना दर्तालाई विश्वसनीय, भरपर्दो, किटानयोग्य र पूर्ण कानुनी मान्यताप्राप्त बनाउन असहज रहेको जनप्रतिनिधिले बताएका छन् ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग काठमाडौंद्वारा व्यक्तिगत घटना दर्ताका विषयमा जानकारी दिने उद्देश्यले विराटनगरमा आयोजित कार्यक्रमका सहभागीले यस्तो बताएका हुन् ।

कार्यक्रममा विराटनगर महानगरका १९ वटै वडाका वडाध्यक्ष र सचिवको सहभागिता थियो । उनीहरूले व्यक्तिगत घटना दर्ताका लागि अनेकौँ चुनौती रहेको बताए । टेस्टट्युब बेबी, अनैतिक सम्बन्धबाट जन्मेका बच्चा, नेपालमा आएर बच्चा जन्माउने क्रम, नेपाली आमा तर भारतीय नागरिकले विवाह गरी छोडिएका महिलाबाट जन्मिएका सन्तान लगायतका धेरैलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा समस्या रहेको सहभागीले बताएका थिए ।

कार्यक्रममा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक युवराज कट्टेलले नागरिक पन्जीकरणलाई सार्वजनिक सेवा प्रवाह तथा नागरिकता एवम राष्ट्रिय परिचय पत्र प्राप्तिको प्रमुख र प्राथमिक कानुनी प्रमाणको रूपमा विकास गर्नु वर्तमान समयको आवश्यकता रहेको बताए । उनले स्थानीय तहले दिनुपर्ने सेवाका विषयमा जानकारी गराएका थिए ।

कार्यक्रममा बोल्दै विराटनगर महानगरका मेयर भीम पराजुलीले सेवाग्राही जनताको आवश्यकता र कानुनमा रही सेवा प्रवाह गर्न आग्रह गरे । कार्यक्रममा विराटनगर महानगरकी उपमेयर इन्दिरा कार्की, प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीलगायतको सहभागिता रहेको थियो ।