झापाः आज विश्वभर प्रेस स्वतन्त्रता दिवस विविध कार्यक्रमका साथ मनाइएको छ । ‘लोकतन्त्र र शान्तिका लागि मिडियाः इन्टरनेटको युगमा पत्रकारिता र निर्वाचन’ भन्ने मुख्यः नारासहित विश्वभर यो दिवस मनाइरहँदा झापामा समेत यो दिवस विविध कार्यक्रम गरी मनाइयो ।

नेपाल पत्रकार महासङ्घ झापा शाखाले काँकरभिट्टामा प्रभातफेरि, कोणसभा आयोजना गरेको थियो भने नारी सञ्चार गृहले मेचीनगर नगरपालिकाको सहयोगमा ‘प्रेस स्वतन्त्र र सरकार’ विषयक अन्तरक्रिया सम्पन्न गरेको छ । दुवै कार्यक्रमको प्रमुख अतिथिका रूपमा थिए अन्तर्राष्ट्रिय खोज पत्रकारिता केन्द्रका सदस्य एवम् नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य शिव गाउँले ।

हरेक वर्षको मे ३ तारिखलाई विश्व प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाउने गरिएको छ । सन् १९९३ देखि संयुक्त राष्ट्रसंघको साधारणसभाले निर्णय गरेर आह्वान गरेअनुसार यो दिवस हरेक सदस्य राष्ट्रमा मनाउने प्रचलन शुरु भएको हो । नेपालमा पनि यो दिवस सन् १९९५ देखि हरेक वर्ष मनाउँदै आउने गरिएको छ ।

मेचीनगर—६ स्थित काँकरभिट्टाको पञ्चमुखी हनुमान मन्दिर परिसरबाट शुरु भएको प्रभातफेरीले बाहुनडाँगी रोड, बसपार्कसहित काँकरभिट्टा बजारको परिक्रमा पश्चात पुनः सोही स्थानमा आएर कोणसभा गरेको थियो ।

कोणसभालाई सम्बोधन गदैं अन्तर्राष्ट्रिय खोज पत्रकारिता केन्द्रका सदस्य एवम् नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय सदस्य शिव गाउँलेले सामाजिक सञ्जालको पहुँच भएसँगै जनताको अभिव्यक्ति स्वतन्त्रता प्रयोगमा उल्लेखनीय सहयोग भए पनि डिजिटल मिडियासँगै चुनौती पनि रहेको बताए ।