झापाः मेचीनगर नगरपालिकाको सहयोगमा नारी सञ्चार गृहले आयोजना गरेको तीनदिने अन्तरक्रिया तथा पत्रकारिता तालीम शुक्रबार सम्पन्न भएको छ । तेस्रो दिन ‘प्रेस स्वतन्त्र र सरकार’ विषयक अन्तरक्रियासहित कार्यक्रम सम्पन्न भएको हो ।

अन्तर्राष्ट्रिय खोज पत्रकारिता केन्द्रका सदस्य एवम् नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय सदस्य शिव गाउँले तथा झापाली सञ्चारकर्मीबीच नेपालको पत्रकारिताको विगत, वर्तमान र भविष्यका बारेमा अन्तरक्रिया भएको थियो । कार्यक्रममा पत्रकारिताका चुनौती, गोपनीयताको हकलगायतका बारेमा अन्तरक्रिया भएको थियो । पछिल्लो समय खोतल्ने र लुकाउनेबीचको कुस्तीका रूपमा पत्रकारितालाई हेरिने गरेको गाउँलेको भनाइ थियो । न्यायलय धरापमा परे पत्रकारिता सङ्कटमा पर्ने उनको भनाइ थियो । पत्रकारिता पेशामा कोसँग कति कुम जोड्ने त्यसमा विचार गर्न उनले सुझाव दिए ।

गृहले पहिलो दिन स्थानीय तहमा गठित न्यायिक समितिहरुलाई न्याय सम्पादनमा आउने समस्या तथा दोस्रो दिन स्थानीय तहमा निर्वाचित झापाली महिला वडाध्यक्ष र दलित जनप्रतिनिधिहरूसँगको अन्तरक्रिया गरेको थियो ।