इटहरीः प्रदेश १ को स्थायी राजधानी इटहरी हुनुपर्ने माग गर्दै इटहरीमा सडकमै पत्रकार सम्मेलनको अयोजना गरिएको छ । इटहरीमा रहेका ५ राजनीतिक दलले संयुक्त रूपमा सडक पत्रकार सम्मेलनको अयोजना गरेका हुन् ।
इटहरी जसरी भए पनि राजधानी हुनुपर्ने भन्दै त्यसको लागि प्रदेश सरकार र संसदलाई दबाब दिन सडकमै पत्रकार सम्मेलनको आयोजना गरिएको आयोजकले जनाएको छ ।
इटहरीको गोलो चोकैमा आयोजना गरिएको पत्रकार सम्मेलनमा पूर्व एमाले, पूर्व माओवादी केन्द्र, नेपाली काङ्ग्रेस, सङ्घीय समाजवादी फोरम नेपाल र राप्रपा संयुक्तको सहभागिता रहेको थियो ।
राजधानी दीर्घकालीन महत्वको विषय भएकाले यसमा दुरदृष्टिका साथ निर्णय लिन प्रदेश सरकार र संसदलाई आग्रह गरिएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । इटहरी सुरक्षित र राजधानीको लागि आवश्यक पूर्वाधारयुक्त शहर भएकाले राजधानी बन्न उपय्ुक्त हुने उनीहरूको तर्क छ ।
पत्रकार सम्मलेनमा बोल्दै नेपाली काङ्ग्रेसका इटहरी नगर सभापति हेमकर्ण पौडेलले राजनीतिक आन्दोलनको उपलब्धीलाई संस्थागत गर्न सङ्घीयता आएको र यो सम्पूर्ण जनताको हितमा हुनुपर्ने बताए । प्रदेश १ का जनताको लागि इटहरी उपयुक्त र सरल हुने उनले बताए । आफूहरू शुरुदेखि नै इटहरी प्रदेश १ को राजधानी हुनुपर्ने अडानमा रहेको बताउँदै उनले इटहरीले प्रदेश १ का १४ वटै जिल्लाको प्रतिनिधित्व गर्ने बताए ।
पूर्व नेकपा एमालेका इटहरी इन्चार्ज रामप्रसाद चौलागाईले इटहरी भौगोलिक र सामरिक हिसाबमा पायक पर्ने भएकाले राजधानी हुनुपर्ने तर्क गरे ।
इटहरी राजधानी हुनुपर्ने अभियान चलाएको राजधानी सरोकार समाजको भने कुनै प्रतिनिधित्व देखिएन । मेयर द्वारिकलाल चौधरी संयोजक रहेको समाज अहिले सुस्त देखिएको छ । पत्रकार सम्मेलनमा पुगेका समाजका सचिव शैलेश बिष्ट र सहसंयोजक समीर कार्की पनि केही समयमै कार्यक्रमस्थलबाट बाहिरिएका थिए ।
पत्रकारको प्रश्नको जवाफ दिने क्रममा इन्चार्ज चौलागाईले कसैप्रति बायस भएर भन्दा पनि स्वतस्फूर्त रूपमा कार्यक्रम गरिएको बताए ।