विराटनगरः तीन दिनदेखि विराटनगरमा जारी नेकपाको बैठक सम्पन्न भएको छ । बैठकले प्रदेशको राजधानी वृहत विराट क्षेत्रको विराटनगरमा राख्ने र नामाङ्कन भने केही समयपछि तय गर्ने सहमति भएको नेताहरुले जानकारी दिएका छन् ।
नेकपाको शीर्ष तहका नेताले सर्वदलीय बैठक राखी प्रदेश १ को संसदमा सहभागी भएका दलका प्रतिनिधिको धारणा लिएका थिए । योसँगै सत्ता पक्षीय सांसदमा उत्पन्न भएको धु्रवीकरणबारे समेत राय लिने काम सम्पन्न भएको छ ।
विराटनगरबाहिर राजधानी बनाउनुपर्ने रायसहित नेकपा सम्बद्ध ३७ सांसदले हस्ताक्षर सङ्कलन गरेपछि नेकपाका नेतामा निर्णय लिन चुनौती थपिएको थियो । यद्यपि नेताहरूले भने सांसदको रायलाई सुुझावको रूपमा मात्र लिएको प्रतिक्रिया दिएका छन् ।
सबै पक्षसँगको छलफल सकिएपछि अब यस अघि बनेको वृहत विराट क्षेत्रको अवधारणाका आधारमा प्रदेशको राजधानी राखिने निश्चित भएको छ । विराटनगर महानगरपालिका, इटहरी र धरान उपमहानगरपालिकासहित मोरङ र सुनसरीका १८ स्थानीय पालिका समावेश गरेर वृहत विराट क्षेत्र बनाइएको हो ।
यसका आधारमा नयाँ स्याटलाइट सिटीको अवधारणा अनुसार विराटनगर शहरमा राजधानी केन्द्रीकृत गरी मोरङको गोठगाउँ र सुनसरीको इटहरीमा व्यवस्थापिकासहित प्रशासनिक संरचना राख्ने सहमति जुुटेको नेकपा प्रदेश १ कमिटीका इन्चार्ज भीम आचार्यले जानकारी दिएका छन् ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूसँग दुुई तिहाइ भए पनि सबै दलको भावना समेटेर सहि निर्णयमा पुुग्ने सहमति भएको बताए । आफू बहुुमतको दम्भका आधारमा पेलेर जाने मनस्थितिमा नरहेको भन्दै त्यसो गरे प्रदेशको विकासमा बाधा पुुग्नेबारे सचेत रहेको प्रतिक्रिया दिए ।
बिहीबार प्रदेश संसद बैठकमा प्रदेशको नाम र राजधानी तय गर्ने बारे प्रस्ताव टेबल गर्ने कार्यतालिका थियो । तर, नेताहरूको सहमति नजुटेपछि आजि दिउँसो १ बजेका लागि राखिएको नेकपा संसदीय दलको बैठक पुनः आइतबार १ बजेलाई सारिएको छ ।