इटहरीः प्रदेश १ को राजधानीको माग गर्दै इटहरीको सडकमा पत्रकार सम्मेलन आयोजना भइरहँदा एक व्यवसायी भने आक्रोशित देखिन्थे ।
उनी हात जोडेर ‘बिन्ती छ, जनतालाइ दुःख दिने काम नगर्नुस्’, भन्दै थिए । ‘इटहरीमा यत्रा मान्छेलाई दुःख दिएर यसो गर्न सुहायो,’ उनले हात जोड्दै प्रश्न गरे, ‘तपाईंहरू धेरै विद्वान हुनुहुन्छ तर यो सुहाउँदो कुरा हो ?’ व्यापारीको आक्रोशका बाबजुद नेताहरू भाषण गरिरहेका थिए ।
त्यही बेला को १ क ३०९० नम्बरको टिपरले मोटरसाइकललाई ठक्कर दियो । दुवै सवारी एउटै दिशाबाट आउँदै थिए । धरानबाट फत्तेपुर हिँडेका बालजीत राई दुर्घटनामा परेका थिए । चोकबाटै पश्चिम मोडिनुपर्नेमा उनी केही पूर्व आएर पश्चिम मोडिएका थिए । चोकमा आयोजित पत्रकार सम्मेलनले उनको बाटो रोकेको थियो ।
मोडिने स्थानमा भीड भएका कारण दुर्घटना भएको घाइते राईले बताए । सामुदायिक अस्पतालमा उपचारपछि उनी घर फर्किइसकेका छन् ।