सङ्खुवासभाः सङ्खुवासभास्थित खाँदबारी नगरपालिकाले योजना तथा पूर्वाधार विकासतर्फ ८८ प्रतिशत भौतिक प्रगति गरेको छ । खाँदबारी नगरपालिकाको चौथो नगरसभाको अवसरमा नगर प्रमुख मुरारीप्रसाद खतिवडाद्वारा सार्वजनिक प्रगति समीक्षा तथा भावी कार्ययोजनाको प्रतिवेदनमा सो तथ्याङ्क उल्लेख गरिएको छ ।
सो प्रतिवेदनअनुसार नगरमा २ सय ६२ योजना स्वीकृत भएकोमा २ सय ३३ योजना सम्झौता भएका र २९ योजना सम्झौता हुन बाँकी रहेका छन् । जसको भौतिक प्रगति ८८ दशमलव ५९ प्रतिशत रहेको छ ।
जसमा नगरपालिकास्तरीय योजनामा ९६ प्रतिशत, नगरका वडास्तरीय योजनामा ९५ प्रतिशत, वडाका योजनामा ८२ प्रतिशत भौतिक प्रगति देखिएको छ । त्यस्तै मर्मत सम्भार कोष, प्रदेश र केन्द्र सरकार तथा सडक बोर्डका योजनामा १ सय प्रतिशत भौतिक प्रगति भएको छ ।
नगर प्रमुख खतिवडाले प्रस्तुत गरेको प्रतिवेदन अनुसार सामाजिक विकास शाखातर्फको शिक्षा, युवा तथा खेलकुद शाखाअन्तर्गत शिक्षकको तलब भत्तामा ६० दशमलव ४३ प्रतिशत खर्च भएको छ । विद्यालय क्षेत्र विकास कार्यक्रममा ३५ दशमलव ११ प्रतिशत, वित्तीय समानीकरणमा ७९ दशमलव ०५ प्रतिशत, युवा तथा खेलकुद कार्यक्रमतर्फ ७२ दशमलव ७३ प्रतिशत खर्च भएको छ ।
स्वास्थ्य शाखातर्फ शहरी स्वास्थ्य केन्द्र स्थापना तथा सञ्चालनमा ८० प्रतिशत, स्वास्थ्य स्वयम्सेविका प्रोत्साहनमा शतप्रतिशत, सुरक्षित प्रसूति सेवा उपकरण खरीदमा ६३ प्रतिशत र विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालनमा २५ प्रतिशत रकम खर्च भएको छ ।
यता, लक्षित वर्ग कार्यक्रमतर्फ ४७ दशमलव ७९ प्रतिशत कार्य सम्पन्न भएको छ भने २७ दशमलव ३५ प्रतिशत कामको शुरुवात नै नभएको पाइएको छ । ७ दशमलव ९५ प्रतिशत काम सम्झौता भएर भइरहेका छन् भने सम्झौताको चरणमा रहेका १६ दशमलव ८९ प्रतिशत काम रहेको छ ।
कृषि र भेटेरिनरीसहित आर्थिक विकास शाखातर्फ ३९ दशमलव ४४ प्रतिशत काम सम्पन्न भएको, ११ दशमलव ५३ प्रतिशत काम सञ्चालनको क्रममा रहेको र ४९ दशमलव ०३ प्रतिशत काम हुन बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ ।
तेस्रो नगरसभाबाट कुल ६० करोड ८६ लाख ४२ हजार ५ सय ५० रुपैयाँको अनुमानित बजेट प्रक्षेपण गरिएकोमा हालसम्म वित्तीय समानीकरणतर्फ ४९ दशमलव ५७ प्रतिशत खर्च भएको छ ।
त्यस्तै, आन्तरिक आम्दानीको ४८ दशमलव ३७ प्रतिशत, प्रदेश सरकारबाट प्राप्त रकमको ११ दशमलव ४५ प्रतिशत, स्थानीय पूर्वाधार विकास कार्यक्रमको १९ दशमलव ४६ प्रतिशत, सडक बोर्डको ३४ दशमलव १३ प्रतिशत र सामाजिक सुरक्षातर्फ ६० दशमलव ९८ प्रतिशत रकम खर्च भएको बताइएको छ ।
नगरसभामा नग प्रमुख मुरारी खतिवडाले आर्थिक वर्ष २०७५÷०७६ मा भएका मुख्य कार्यसमेत प्रस्तुत गरेका थिए । पहिलो पटक संसदीय अभ्यासमार्फत् भएको नगरसभाले खाँदबारी नगरपालिकाको कृषि व्यवसाय प्रवद्र्धन ऐन २०७६ समेत बहुमतले पारित गरेको छ ।