सङ्खुवासभाः भारतको सिक्किम राज्यका सडक, पुल तथा संस्कृति धरोहर गर्जमान गुरुङलाई खाँदबारी नगरपालिकाले सम्मान गरेको छ । पारिवारिक र व्यक्तिगत भेटघाटको सिलसिलामा सङ्खुवासभा आएका मन्त्री गुरुङलाई खाँदबारी नगरपालिकाले औपचारिक कार्यक्रमका साथ स्वागत सम्मान गरेको हो ।

पहिलो पटक सङ्खुवासभा भ्रमणमा आइपुगेका मन्त्री गुरुङ गुराँसको राजधानी तीनजुरे– मिल्के– जलजले (टीएमजे) क्षेत्र र सानो पाथीभरा मन्दिरको दर्शन गरी सदरमुकाम खाँदबारी आइपुगेका थिए ।

स्व. खेमराज गुरुङको ‘वारी जमुना पारी जमुना, जमुनाको फेदैमा मनकामना’ बोलको गीतले सिक्किमलाई नै मोहनी लगाएको स्मरण गर्दै खेमराजकै सम्बन्धको कारण आफू सङ्खुवासभा आइपुगेको मन्त्री गुरुङले बताए ।

मन्त्री गुरुङ स्व. खेमराज गुरुङको जन्मघर पनि पुगे । ‘मैले खेमराजजीसँग उहाँको जन्मस्थल सङ्खुवासभाका बारेमा जाने इच्छा राखेको थिएँ, त्यतिबेला व्यस्तताका कारण आउन सकिनँ । त्यसैले अहिले उहाँले देखेको सपना पूरा गर्न म सङ्खुवासभा आएको छु’, उनले भने ।

खाँदबारी नगरपालिकाले गरेको स्वागत तथा सम्मान कार्यक्रममा मन्त्री गुरुङले सङ्खुवासभा र सिक्किमको सम्बन्ध, जातीय, भाषिक र सांस्कृतिक सम्बन्ध तथा राजनीतिक गतिविधिका बारेमा चासो राखेका थिए ।

स्व. खेमराज गुरुङका गीत र योजनासमेत सम्झँदै मन्त्री गुरुङले स्व. खेमराज गुरुङका सपना साकार पार्नको लागि सिक्किमले सहयोग गर्ने बताए ।

सिक्किममा भर्खरै सम्पन्न चुनावमा पनि आफ्नो पार्टी नै बहुमतमा आउने बताउँदै उनले भने, ‘हाम्रो पार्टीले निरन्तर ५ वर्षे कार्यकालको ५ वटा सरकार चलाइसकेको छ । अब छैँटौँ पटक पनि हाम्रै पार्टीले सरकार चलाउने निश्चित छ ।’

विगतमा नेपालमा छोटो समयमा नै सरकार विघटन हुने हुनाले विकास निर्माण ढिलो भएको मन्त्री गुरुङको भनाइ थियो । ‘विगतमा नेपालमा लामो समय एउटै सरकार टिक्न सकेन र विकास भएन,’ उनले भने, ‘अब त पक्कै देशले फड्को मार्ने छ ।’