झापा: जिल्ला विपद व्यवस्थापन समिती झापाको मनसुन पूर्व तयारी बैठक शनिबार सम्पन्न भएको छ । झापा जिल्लामा आगामी मनसुनी वर्षा र सोबाट उत्पन्न हुन सक्ने बाढी तथा डुबान र कटानजस्ता असरलाई न्यूनीकरण गर्न तयारी बैठक बसेको हो ।
बैठकले विपद व्यवस्थापनसँग सरोकार राख्ने सबै निकायहरूलाई तयारी अवस्थामा राख्ने निर्णय गरेको छ । विपतबाट हुन सक्ने सम्भावित हानी नोक्सानी तथा क्षतिलाई कम गर्न विपत आउने समयपूर्व नै तयारी हालतमा बस्ने र विपतको समयमा सबै निकायबीच समन्वय र सहकार्य गर्ने निर्णय गरेको छ । विपतका समयमा आ आफ्नो क्लष्टरको जिम्मेवारी र भूमिका एकआपसी समन्वयमा गर्नुपर्ने विपद व्यवस्थापन कानुनमा उल्लेख छ ।
बैठकले बाढी र डुबानबाट प्रभावित हुने झापाका दक्षिणी गाउँपालिका र नगरपालिकाका विभिन्न स्थानको पहिचान गरी जनसङ्ख्याको लगत गरी जिल्ला विपद व्यवस्थापन समितिमा पठाउने निर्णय गरेको छ । त्यस्तै, त्रिपाल तथा खाद्यान्नलगायत राहत तथा उद्दार सामग्री, स्थानीय विपद व्यवस्थापन कोष र सोको परिचालन, स्थानीय विपद व्यवस्थापन समितिको सक्रियताको अवस्था लगायत स्थानीय तहको विपद प्रतिकार्य योजना लगायतको विवरण तीन दिन भित्र तयार गरी जिल्लास्तरीय समितिमा पठाउन सबै स्थानीय तहमा अनुरोध गर्ने निर्णय गरेको छ ।
विपतको समयमा सबै सुरक्षा निकायले द्रुत ढङ्गले खोजी तथा उद्दारको काम गर्ने, विकास निर्माणसँग सम्बन्धित निकायहरूले आवश्यक पर्ने डोजर, क्रेन, स्काभेटर लगायतका मेसिनरी औजार र दमकल तथा एम्बुलेन्स चालु हालतमा राख्ने निर्णय गरेको छ । महामारी फैलिन नदिन जनस्वास्थ्य तथा अस्पतालका स्वास्थ्यकर्मीहरू तत्काल परिचालन हुन तयारी हालतमा बस्ने, लामो बिदामा स्वास्थ्यकर्मी तथा अन्य कर्मचारी बस्न नदिनका लागि सम्बन्धित निकायमा पत्राचार गर्ने पनि निर्णय भएको बताइएको छ ।
विकास निर्माणसँग सम्बन्धित निकायहरूले सडक निर्माणका क्रममा खनिएका खाल्डाहरू वर्षातको समय अगावै पुर्ने व्यवस्था मिलाउन सम्बन्धित निर्माण व्यवसायीलाइ अनुरोध गर्ने समेत निर्णय गरेको छ ।
बैठकले जङ्गली हात्ती पीडितहरूलाई अन्तरिम राहतका लागि पठाइएको रकम समयमा प्राप्त गर्न नसकिएकाले सोको नीतिगत व्यवस्थापन र सरलीकरणका लागि केन्द्रमा अनुरोध गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको अध्यक्षतामा बसेको बैठकमा जिल्लाका स्थानीय तहका प्रमुख, सरोकारवाला निकाय, रेडक्रस लगायत जिल्लाका राजनीतिक दलका प्रमुखहरूको उपस्थिति रहेको थियो ।