धनकुटा: भुक्तानी रोकिँदा धनकुटास्थित भेडेटार–महाभारत–आहाले–वराहक्षेत्र सडक योजनाको निर्माणको काम ठप्प भएको छ ।
कामको पछिल्लो मूल्याङ्कनको आधारमा २ करोड रुपैयाँ बराबरको भुक्तानी हुने बिलिङ भए तापनि जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) धनकुटाले भुक्तानी नदिएको बताइएको छ । जसका कारण सडक निर्माणको काम २ महिनादेखि ठप्प भएको हो । बिलिङ भएको रकम भुक्तानी नपाउँदा मजदुरको ज्याला र इन्धनबापतको रकम र अन्य सामग्रीको भुक्तानी गर्न नसकेको ठेकेदार कम्पनी स्वच्छन्द क्याराभान जेभीका इञ्जिनियर केशव कट्टेलले जानकारी दिए ।
ढलसहित सवा ६ मिटर चौडा र करीब १० किलोमिटर लामो सो सडक ठेकेदार कम्पनीले १६ करोड २७ लाख १ हजार ८ सय ६८ रुपैयाँमा ठेक्का पाएको थियो । गत असार १४ गतेदेखि निर्माण शुरु भएको सो योजनाको काम आगामी आर्थिक वर्षको पुस १४ गते भित्र सम्पन्न भइसक्नुपर्ने समयसीमा छ । अहिलेसम्म ६० प्रतिशत काम सम्पन्न भइसकेको छ । तत्काल भुक्तानी नभए तोकिएको समयमा काम सम्पन्न नहुने आशङ्का बढेको छ ।
यता, जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) धनकुटाका निमित्त आयोजना प्रमुख दीपनारायण साहले मन्त्रालयबाट रकम निकासा नहुँदा भुक्तानी गर्न नसकेको बताए । केन्द्रीय आयोजना कार्यान्वयन इकाईबाट चालु आर्थिक वर्षमा सो सडक योजना अन्तर्गत ८ करोड २६ लाख रुपैयाँ बजेट निकासा भएको थियो ।
योजनाको काम तीव्र गतमिा भएका कारण ८ करोड ५ लाख रुपैया भुक्तानी भसकेको बताइएको छ । बाँकी कामको २ करोड रुपैयाँ भुक्तानी गर्न नसकेको हो । विभागले अर्थ मन्त्रालयमा बजेट माग गरेको कुरा जानकारीमा आएको उनले बताए । ‘मैले बजेटको लागि पटकपटक सम्पर्क गर्दा विभागबाट अर्थ मन्त्रालयमा फाइल पुगेको जानकारी पाएको छु’, उनले भने, ‘सडकको डे«न, पर्खाल, मोड सुधार, सडक चौडा गर्ने लगायतका काम सम्पन्न भइसकेको छ ।’ बजेट अभावकै कारण करीब २ सय मिटर सडकको माटो काट्ने काम बाँकी रहेको छ ।
पर्यटकीय स्थल भेडेटारबाट महाभारत, आहाले हुँदै वराहक्षेत्र जोड्ने सडकको कुल लम्बाइ ३६ किलोमिटर हो । जसमध्ये १० किलोमिटर सडक कालोपत्रे हुन लागेको हो ।