धरानः फक्ताङ्लुङ मिडिया हाउस प्रालिद्वारा सञ्चालित एफटिएल अनलाइन टीभीको आयोजनामा भइरहेको प्रदेशस्तरीय एसईई स्टेट–१ आइडलको दोस्रो चरणको अडिसन शनिबार सम्पन्न भएको छ

एक नम्बर प्रदेशका विभिन्न जिल्लामा भएको अडिसनबाट छानिएका ६३ जना प्रतियोगीहरूले दोस्रो अडिसनमा सहभागिता जनाएका थिए । धरान–९ पुतली लाइनस्थित फ्रेन्डस गार्डेनमा सम्पन्न दोस्रो चरणको अडिसनबाट ३२ जना तेश्रो चरणका लागि छनोटमा परेको इभेन्ट म्यानेजर तीर्थ कार्कीले जानकारी दिए ।

छनोटमा पर्नेहरूमध्ये सुनसरीबाट ११, पाचथरबाट ४, इलामबाट ३, झापाबाट ५, धनकुटाबाट ४, तेह्रथुमबाट २ र मोरङबाट ३ जना रहेको कार्कीले जानकारी दिए । तेस्रो अडिसन (गला राउण्ड) आगामी बैशाख २८ गते शनिबार फ्रेन्डस गार्डेनमा हुने प्रविधि व्यवस्थापक जगत राना मगरले जानकारी दिए ।

प्रतियोगिताका विजेताले नगद ५० हजार रुपैयाँ, एउटा गीत रेकर्डिङ, एउटा म्युजिक भिडियो र प्लस टु अध्ययनका लागि पूर्ण छात्रवृत्ति पाउने प्रा.लि.का अध्यक्ष डम्बरकुमार तुम्बापोले बताए । त्यस्तै, दोस्रो हुनेले नगद ३० हजार, विभिन्न आकर्षक पुरस्कार, प्लस टु अध्ययनका लागि ५० प्रतिशत छात्रवृत्ति पाउनेछन् । त्यस्तै, तेस्रो हुनेले नगद २० हजार, अन्य आकर्षक पुरस्कार र प्लस टु अध्ययनका लागि ३० प्रतिशत छात्रवृत्ति पाउने अध्यक्ष तुम्बापोले बताए ।

विजेता, दोस्रो र तेस्रो हुनेका लागि अध्ययन गर्न सहज होस् भन्ने उद्देश्यले धरानमा नवोदय र युएन कलेज, विराटनगरमा अरनिको कलेज, इटहरीमा नमुना कलेज, बिर्तामोडमा मनाकामना कलेज, दमकमा झापा मोडल कलेज, पथरीमा एभरेष्ट कलेज र काठमाडौंमा जेभियर इन्टरनेसनल कलेजमा अध्ययन गर्न सकिने तुम्बापोले जानकारी दिए । प्रतियोगिताको निर्णायकमा प्राश्ना शाक्य, राम धामी र विनायक राई रहेका छन् ।