इटहरीः मोरङको सुन्दरहरैँचा–५ मा रहेको नव निर्मित राधेश्याम सेवा ट्रष्ट नयाँ वृन्दाबन गौशलामा महायज्ञको तयारी गरिएको छ । नवनिर्मित भवनमा मङ्गलबारदेखि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको आयोजना गर्न लागिएको हो ।

राधेश्याम सेवा ट्रष्टका दीनबन्धु शास्त्रीले चैत २४ गते मङ्गलबार कलश यात्रा गरिने समेत जानकारी दिए । २५ गतेदेखि श्रीमद्भागवत ज्ञान महायज्ञ शुरु हुनेछ । ३० गते प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्दिरको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । यस्तै, ३१ गते दीप प्रज्वलन तथा जेठ १ गते सामूहिक व्रतबन्ध तथा महायज्ञको समापन हुने बताइएको छ ।

साढे १४ कठ्ठा जमिनमा निर्मित उक्त भवनको वरीपरी पार्क, शिव मन्दिर, गौ सेवा भवन, दुर्गा, कविरका मन्दिरहरू, बुद्धमूर्ति, आश्रम साथै विश्वकै सबैभन्दा ठूलो गौमाता निर्माण भइसकेका छन् ।

यस्तै, स्नानघाट, आरती घाट, गोत्रीय ऋषिहरूको मूर्तिसहितको पार्क निर्माणाधीन अवस्थामा रहेको बताइएको छ । बुढीगंगा नदी किनारमा रहेको उक्त मन्दिर पर्यटकीय क्षेत्रसँगै धार्मिक तीर्थस्थलको रूपमा विकास गरिने लक्ष्य लिइएको छ ।

धर्म, संस्कृतिको संरक्षण, प्रबद्र्धन साथै धार्मिक अनुसन्धान केन्द्रका रूपमा बिस्तार गर्दै लगिने बताइयो । २०६५ सालबाट सो भवन बनाउन शुरु गरिएको थियो ।