इटहरीः स्थायी राजधानी प्रस्ताव भए पनि स्थायी राजधानी माग्दै विराटनगरका अभियन्ताहरू हडतालमा उत्रिएका छन् । विराटनगरबाट राजधानी अन्त सार्न लागेको भन्दै हडताल गरिएको आयोजकहरूले बताएका छन् । भेषप्रसाद धमलाको संयोजकत्वमा भएको हडतालमा नेकपा , नेपाली काँग्रेस देखी विराटनगरमा केन्द्रित विभिन्न सङ्घसंस्थाहरूले हडतालको नेतृत्व गरिरहेका छन् । राजधानीका संरचना विराटनगर बाहिरपनि लान लागिएको भन्दै उनीहरू हडतालमा उत्रिएका छन् ।
विराटनगरलाई स्थायी राजधानी बनाउन शान्तिपूर्ण दबाब समितिको ब्यानरमा भएको हडताल ले विराटनगरको यातायात ठप्प भएको छ । प्रदर्शनकारीहरूले सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।
आइतबारको प्रस्तावमा आज संसदीय छलफललाई प्रभावित पार्ने गरि भएको हडतालमा सांसदहरूलाई स्कर्टिङ गरेर लगिने भएको छ । विराटनगर बाहिरका सांसदहरूलाई इटहरी उपमहानगरपालिका अगाडिबाट सुरक्षाकर्मीले स्कर्टिङ गरेर संसद् भवन सम्म लाने धनकुटाकी सांसद कुसुम कुमारी श्रेष्ठले बताइन ।
नेकपा नेताको रोचक संयोगः नेकपा प्रस्तावमा श्रीमतीको समर्थन, श्रीमानको हडताल
आज विराटनगरमा भइरहेको हडतालको नेतृत्व नेकपाबाट नेताहरू महेश रेग्मी र पारुल क्षेत्रीले गरिरहेका छन् । स्थायी राजधानीमा नेकपाको प्रस्तावमा समर्थन गर्ने सांसद सबित्राकुमारी रेग्मीका श्रीमान् समेत रहेका रेग्मी आफै हडतालका सहसंयोजक रहेका छन् । नेकपा नेता पारुल क्षेत्री सदस्य हुन ।
यस्तैगरि, नेपाली काङ्ग्रेसबाट मोदराज घिमिरे र नागेश कोइराला सहसंयोजक रहेका छन् । राजपाका महम्मद कादिर र सङ्घीय समाजवादी फोरमका राजकुमार यादव पनि हडताल आयोजकको सदस्य रहेका छन् । उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरे र मोरङ व्यापार सङ्घका अध्यक्ष पवन सारडा हडताल समितिका सदस्य रहेका छन् ।