भोजपुरः शिशुलाई जन्म दिए पनि लामो समयसम्म रक्तश्राव नरोकिएपछि भोजपुरकी एक महिलालाई हेलिकोप्टरबाट उद्दार गरी काठमाडौं पठाइएको छ ।

जीवनमरणको दोसाँधमा रहेकी रामप्रसाद राई गाउँपालिका वडा नं. ३ भुल्के घर भई हाल भोजपुर नगरपालिकाको भोटेपसल बस्ने ३० वर्षीया कल्पना राईको ज्यानको जोखिम बढेपछि जिल्ला अस्पताल भोजपुरले थप उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा रेफर गरेको थियो ।

राष्ट्रपति महिला उत्थान कार्यक्रमको आमा सुरक्षा कार्यक्रमअन्तर्गत ती सुत्केरी महिलाको ‘एयर लिफ्ट’ मार्फत् उद्दार गरिएको हो । उनलाई नेपाली सेनाको हेलिकोप्टरबाट विराटनगरस्थित नोबेल अस्पतालमा उपचारार्थ लगिएको छ ।

श्रीमती बाँच्ने आशा पलाएको र सरकार आफ्नो लागि भगवान नै भएको कल्पनाका श्रीमान्ले जनाएका छन् । आज बिहान साढे ३ बजे घरमै सुत्केरी भएकी उनी सालनाल झरेपछि अचेत भएकी थिइन् । त्यस्तै, उल्टी पनि हुन थालेपछि उनलाई अस्पताल लगिएको थियो ।

उपचारमा संलग्न डाक्टर पवित्रा श्रेष्ठका अनुसार गर्भाअवस्थामा उनले नियमित स्वास्थ्य जाँच नगराएकाले यो समस्या देखिएको हो । ‘अहिले पनि अस्पतालमा उपचार गर्न मान्नुभएन, हामीले जबरजस्ती नै अर्धचेत बनाएर उपचार ग¥यौं’, डाक्टर श्रेष्ठले भनिन्, ‘तर रक्तश्राव रोकिएन । झन् जोखिम बढेर गयो ।’ शिशुको स्वास्थ्य अवस्था भने राम्रो भएको उनले बताइन् ।