बेलबारीः जातीय छुवाछुत तथा भेदभावविरुद्ध जनचेतना जगाउन शुरु भएको पैदलयात्राको टोली बेलबारी आइपुगेको छ । ५१ दिनअघि महाकालीको चाँदनीदोधाराबाट थालिएको ‘नेपाल पदयात्रा– २०१९’ का पदयात्रीलाई बेलबारी नगरपालिकाले स्वागत र सम्मान गरेको हो ।

अभियन्ताहरू अशोक दर्नाल, होमराज आचार्य र रीता परियारलाई बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदी, उपमेयर ढाकाकुमारी पराजुली, प्रमुख प्रशासकीय अधिकृत प्रदीपकुमार साह, प्रवक्ता योगेन्द्र सुवेदी लगायतले सम्मान गरेका हुन् ।

पदयात्रीलाई स्वागत गर्दै बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले यो अभियानले देशलाई समृद्ध बनाउन सहयोग पुग्ने बताए । ‘जनचेतनाको अभावमा अहिलेसम्म पनि कतैकतै जातीय छुवाछुतका घटना भएको सुनिन्छ’, उनले भने, ‘यस नगरपालिकाले भने जनचेतना तथा आयआर्जनका कार्यक्रम जनस्तरसम्म पुर्याइरहेको छ ।

चैत ३ गतेदेखि यात्रा शुरु गरेर अहिलेसम्म ९५ वटा स्थानीय तहमा पुगिसकेको अभियन्ता दर्नालले बताए । उनले ५१ दिनमा बेलबारी आइपुग्दा कतै पनि गाडी नचढेको समेत बताए ।

अभियन्ताले स्थानीय तहका जनप्रतिनिधि र विभिन्न सङ्घ संस्थाका अगुवालाई भेट्ने गरेको उनले बताए । उनले ६८ हजार भन्दा बढी नागरिकहरूसँग दलित समुदायमाथिको विभेद र उत्पीडनका विषयमा संवाद गरेको दाबी गरे ।

गैरदलित समुदायका होमराज आचार्यले दलित मुक्तिका लागि पैदलयात्रामा निस्किएको बताए । अहिलेसम्म पनि छुवाछुत अन्त्य नभएकाले सबैमा सकारात्मक सन्देश फैलाउनका लागि पैदल यात्रमा निस्केको उनले बताए । मन्दिर तथा देवीदेवताको मूर्ति बनाउने दलित नै मन्दिरमा छिर्न नपाउनु बडो दुःखको विषय भएको उनले बताए ।

अभियान झापाको काँकडभिट्टा पुगेर समापन हुने पैदलयात्रीको भनाइ छ । दलित समन्वय समिति बेलबारीले अभियानलाई आर्थिक सहयोग गरेको जनाएको छ ।