इटहरीः विराटनगरलाई केन्द्र मानेर आज साँझ पौने आठ बजे इटहरी र गोठगाँउ क्षेत्रमा राजधानी बनाउने प्रदेशसभाले घोषणा गरेको छ । विराटनगरलाई राजधानी मानेर व्यवस्थापिका र कार्यपालीकाका संरचनाहरू बृहत्त विराट क्षेत्रका इटहरी र गोठगाँउ आसपास क्षेत्रमा बनाउने घोणणा सभामुख प्रदीप कुमार भन्डारीले गरेका थिए ।

यस्तो छ घोषणाको पुर्णपाठ
माननीय सदस्यहरू, प्रदेश नम्बर १ को प्रदेशको राजधानीका लागी प्रस्तावित स्थानको पक्षमा तत्काल कायम रहेको सदस्य सङ्ख्या ९३ मध्ये प्रदेश नम्बरको पक्षमा  ९३ मध्ये ८६ मत प्राप्त भएको छ भने प्रदेश नम्बर १ को प्रदेशको राजधानी लागी प्रस्तावको विपक्षता तत्काल कायम रहेको सदस्य सङ्ख्या ९३ को मध्ये शून्य मत प्राप्त भएको छ ।
माननीय सदस्यहरू, माननीय बुद्धि कुमार राजभन्डारीद्धारा प्रस्तुत प्रदेश नम्बर १ को राजधानी विराटनगरमा रहनेछ । कार्यपालिका, व्यवस्थापिका लगायतका अन्य संरचनाहरू बृहत् विराट क्षेत्र अन्तगर्तका विराटनगर, इटहरी र सुन्दरहरैचा क्षेत्र आसपास रहन्छ भन्ने प्रस्तावको पक्षमा प्रदेश सभामा तत्काल कायम रहेको सदस्य सङ्ख्याको दुई तिहाइ बहुमत प्राप्त भएकोले नेपालको संविधानको धारा २८८ (२) र प्रदेश नम्बर १ को प्रदेशसभा नियमावली पहिलो संशोधन सहित २०७४ को नियम ५८ (क) २२ बमोजिम उक्त प्रस्ताव पारित भएको घोषणा गर्दछु ।