धरान: प्रसिद्ध भाषाविद् प्रा.डा. टङ्कप्रसाद न्यौपानेका नाममा स्थापना गरिएको अध्ययन अनुसन्धान केन्द्रको औपचारिक घोषणा सोमबार यहाँ गरिएको छ । भाषा–साहित्यको क्षेत्रमा लामो समय बिताएका भाषाविद् न्यौपानेको योगदानलाई कदर गर्दै कवि अनिल पौडेलको अग्रसरतामा प्रा.डा. टङ्कप्रसाद न्यौपाने अध्ययन अनुसन्धान केन्द्रस्थापना गरिएको हो ।

न्यौपानेले प्राध्यापनको क्षत्रमा ४० वर्षभन्दा लामो समय बिताएका छन् । कार्यक्रममा केन्द्रका योजनाकार कवि पौडेलले नाम न्यौपानेको भए पनि काम भने समाज र सिङ्गो देशकै भाषा, साहित्य, कला र संस्कृतिको संरक्षणका लागि हुने धारणा राखे । ‘उहाँ (न्यौपाने) लाई त सम्मान मात्र गरेका हौँ’, उनले भने, ‘काम त समाजकै हुनेछ, त्यसैले यसलाई सबैले सहयोग गरौँ ।’

त्यस क्रममा केन्द्रका अध्यक्ष गोविन्दप्रसाद तिम्सिनाले प्रारम्भमा धरान वरपरका सरकारी क्याम्पसमा स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत् जेहेन्दार तथा विपन्न विद्यार्थीहरूलाई सहयोग गर्ने योजना बनाइएको सुनाए । यसका लागि आवश्यक मापदण्ड बनाइने उनले जानकारी दिए । यसबाहेक बालसिर्जनालाई प्रोत्साहन गर्न विद्यालय स्तरमा कार्यक्रम गर्ने र सञ्चारकर्मीहरूलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने योजना रहेको अध्यक्ष तिम्सिनाले बताए । प्रा.डा. न्यौपानेले गरेजस्तै सबै नेपालेली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण र विकासका लागि अनुसन्धान गर्ने गराउने, प्रशिक्षण दिने, स्रस्टाहरूलाई सम्मान गर्ने जस्ता योजना पनि केन्द्रले बनाएको छ ।

कार्यक्रममा धरान–१४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले केन्द्रका लागि भवन बनाउन जग्गाका साथै अन्य सहयोग गर्न आपूm प्रतिबद्ध रहेको बताए । त्यस क्रममा प्रा.डा. न्यौपानेले आपूm त्यति महान् व्यक्ति नभए पनि संस्थाले समाजकै हितमा काम गर्ने भएकोले संस्था स्थापना गर्न आफु सहमत भएको बताए ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष यज्ञेश्वर खनाल र सदस्य डा. राजेन्द्र शर्माले संस्था समाजकै लागि भएकाले यसलाई सक्दो सहयोग गरिदिन आग्रह गरे । कार्यक्रम केन्द्रका महासचिव प्रताप भट्टराईले सञ्चालन गरेका थिए ।
तस्विर ः लक्ष्मण थापा