लेटाङः पछिल्लो समय मोरङको उत्तरी क्षेत्रमा रहेको चुरे क्षेत्र उजाड बन्दै गएकाले यसको संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् । सामुदायिक बन उपभोक्ता महासङ्घ नेपालको लेटाङ नगर सङ्घले गरेको प्रशिक्षण कार्यक्रमका सहभागीले यस्तो बताएका हुन् ।
उनीहरूले चुरेको क्षेत्रको संरक्षणको लागि राज्यले स्थानीय उपभोक्ताहरूलाई प्रोत्साहन नगरे संरक्षण हुन नसक्ने बताए । कार्यक्रममा बोल्दै लेटाङ १ नम्बर वडा अध्यक्ष विष्णुकुमार मगरले चुरेको संरक्षण गर्न सबै लागि पर्नुपर्नेमा जोड दिए । चुरे क्षेत्रको संरक्षण गरे पनि स्थानीय उपभोक्ताहरूले लाभ पाउन नसकेको उनले बताए । स्थानीयलाई प्रोत्साहन गरेर चुरे संरक्षणमा विशेष योजना अगाडी बढाउनुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा केराबारी गाउँपालिका–९ का वडा अध्यक्ष भुपतेन्द्र मल्लले वर्षांैदेखि सामुदायिक वन स्थानीय उपभोक्ताहरूले संरक्षण गरेको हुनाले यहाँको सामुदायिक वन सामुदायमा हस्तान्तरण हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासङ्घ लेटाङका अध्यक्ष आनन्द सागर तिम्सिनाले जिल्लामा १ सय ३३ वटा सामुदायिक वन रहेकाले यसको संरक्षणमा स्थानीय जनता लागिपरेको बताए । मोरङको लेटाङमा मात्र ३८ वटा सामुदायिक वन रहेको जानकारी दिँदै उनले व्यापक रूपमा महासङ्घले सचेतना अभियानको थालनी गरेको जानकारी दिए ।
हालसम्म ९ वटा सामुदायिक वनमा सचेतना फैलाउने जागरण अभियान शुरु गरिसकेको उनले बताए । आइतबार लेटाङ १ मा रहेको श्री जलकन्या सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ता र कार्यसमिति सदस्यहरूलाई एक दिने प्रशिक्षण दिएको अध्यक्ष ललितकुमार तामाङले जानकारी दिए । प्रशिक्षणमा १ सय बढी सहभागी थिए ।