उर्लाबारीः मोरङ क्षेत्र नं. १ का प्रदेश सांसद कुलप्रसाद साम्बा लिम्बू (कुशल) ले नेपाल बौद्ध गुम्बाको अनुगमन गरेका छन् ।

मङ्गलबार प्रदेश सांसद लिम्बूले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, प्रदेश नं. १ बाट विनियोजन भएको २० लाख रुपैयाँ बजेटको कामको अवस्थाका बारेमा अनुगमन गरेका हुन् ।

उर्लाबारी–५ मा रहेको गुम्बाको तेस्रो तल्ला निर्माण भइरहेको छ । उक्त बजेटबाट भवन निर्माण, रङरोगन, मर्मत सम्भारलगायतका काम गरिने गुम्बाका अध्यक्ष महेन्द्रजंग तामाङले जानकारी दिए ।

धार्मिक पर्यटकीय क्षेत्रका रूपमा अघि बढाउन सक्रियपूर्वक लागि परेको उनले उल्लेख गरे । प्रदेश सांसद लिम्बूले उर्लाबारीको गहनाको रूपमा रहेको गुम्बाको विकासमा आगामी दिनमा पनि प्रदेश सरकारबाट बजेट विनियोजन हुने बताउँदै पारदर्शी तरिकाले काम सम्पन्न गर्न आग्रह गरे ।