बेलबारीः बेलबारी नगरपालिका वडा नम्बर २ ले स्वास्थ्य शिविरसहित ९० जना भन्दा बढी ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । प्रत्येक वर्ष सम्मान गर्दै आएको वडा कार्यालयले यस वर्ष ८० वर्षभन्दा बढी उमेरका ज्येष्ठलाई दोसल्लाका साथै नगद ५ सय, हर्लिक्स, र मिठाइ दिएर सम्मान गरेको वडाध्यक्ष घनश्याम गौतमले बताए ।
निःशुल्क औषधीसहितको स्वास्थ्य शिविर गरिएको थियो । ज्येष्ठ नागरिकलाई सम्मान गर्दै बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले ज्येष्ठ नागरिक नगरका अभिभावक रहेकाले उनीहरूको आशीर्वाद लिएर समृद्ध नगरको कल्पनामा अगाडि बढिरहेको बताए ।
नगरपालिकाले ज्येष्ठ नागरिकलाई लक्षित गरेर टोलटोलमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आइरहेको उनले बताए । आगामी वर्ष यस्ता कार्यक्रम थप बिस्तार गरिने उनको भनाइ थियो । नगरवासी कोही पनि ओछ्यानमा थला परेर सुत्नु नपरोस् भनेर विभिन्न अभियान सञ्चालन गरिरहेको समेत मेयर सुवेदीले बताए । सम्मान कार्यक्रममा बेलबारी नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुलीलगायतको उपस्थिति थियो ।