विराटनगरः प्रदेश एक सरकारले अग्रज चार पत्रकारलाई सम्मान गरेको छ । राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा प्रदेश एक भित्र रहेर ३५ वर्ष भन्दा लामो समय देखि यस क्षेत्रका रहेका पत्रकारहरू नकुल काजी, हर्ष सुब्बा, राजकुमार कार्की र चन्द्र भण्डारीलाई सम्मान गरिएको हो ।
आन्तरिक मामिला एवंम कानुन मन्त्रालयमा आयोजना गरिएका कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले चार पत्रकारलाई जनही एक लाख नगदसहित सम्मान गरेका हुन् । मुख्यमन्त्री राईले प्रदेश सरकारले सम्मानमार्फत मिडिया क्षेत्रको सम्मान गर्ने कार्यको सुरुवात गरेको जानकारी दिए ।
आन्तरिक मामिला एवंम कानुन मन्त्री हिक्मत कुमार कार्कीले हरेक साल दुुइ दुुइ जना अग्रज पत्रकारलाई सबै गरी सम्मान गर्दै जाने जानकारी दिए । अघिल्ला साल कार्यक्रम नगरिएको हुँदा यो पटक भने चार जनालाई एकै स्थानबाट सम्मान गरिएको उनले जानकारी दिए ।
त्यस अवसरमा सञ्चार कार्यदलका संयोजक यज्ञ शर्मा, मोरङ प्रमुख जिल्ला अधिकारी रमेश केसी, प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुली,कौशल चेम्जोङ र नेपाल पत्रकार महासङ्घ प्रदेश १ का अध्यक्ष विक्रम लुइँटेलले पनि मन्तव्य राखेका थिए ।