उर्लाबारीः मोरङको उर्लाबारी–१ मा सञ्चालन भएका क्रसर उद्योग हटाउन अभियान चलाएका स्थानीयवासीहरू ४० दिन देखि निरन्तर रिले अनसन बसिरहेका छन् ।  उनीहरूले मानव बस्तीका छेउमा सञ्चालन गरिएको मापदण्ड विपरीतका क्रसर हटाउन माग गरिरहेका छन् ।

आन्दोलन विफल बनाउन क्रसर उद्योगका सञ्चालकहरूले भाडामा मान्छे प्रयोग गरेर स्थानीयलाई आतङ्कित पारेको भन्दै सरोकारवालाको ध्यानाकर्षण गराएका छन् । मङ्गलबार १ सय ५० भन्दा बढी भाडाका युवाहरू लिएर क्रसर सञ्चालकले स्थानीयलाई त्रास सिर्जना गर्दै क्रसर उद्योग सञ्चालन गरेपछि स्थानीयवासीहरू हामी मर्छौं तर क्रसर चलाउन दिँदैनौं भन्दै आन्दोलनमा उत्रिएका थिए ।

स्थानीय चन्द्रप्रसाद दाहालले स्थानीयलाई त्रास सिर्जना गरेर मापपदण्ड विपरीत क्रसर सञ्चालन गर्ने सपना नदेख्न चेतावनी दिएका छन् । ‘क्रसर उद्योगले एक हिसाबले दादागिरी नै गरिरहेका छन्’ उनले भने, ‘यस क्षेत्रमा सिङ्गो बस्ती र विद्यालयसमेत जोखिममा छन् ।’ उनले जनप्रतिनिधिहरूले क्रसर उद्योगका सञ्चालकको मतियार बनेको भन्दै आक्रोेश पोखेका छन् ।

स्थानीय इन्दिरा दाहालले क्रसर उद्योगको आतङ्कले गाउँमै बस्न सक्ने अवस्था नभएको भन्दै क्रसर उद्योग हटाउन माग गरिन् । क्रसर उद्योगका कारण आजित बनेको भन्दै स्थानीय ४० दिनदेखि आन्दोलित छन् । उर्लाबारी– १ मा पञ्चेश्वर क्रसर उद्योग र पूर्वेली क्रसर उद्योग सञ्चालनमा छन् । त्यहीँ निर्माणाधीन अवस्थामा रहेका देवीस्थान मिनिरल्स क्रसर उद्योग र सिद्धार्थ क्रसर उद्योग सञ्चालनको अन्तिम तयारीमा छन् ।

स्थानीयका अनुसार जनप्रतिनिधि, समाजका प्रतिष्ठित र गुन्डागर्दीको पृष्ठभूमि रहेकाहरूले मापदण्ड मिचेर लामो समयदेखि क्रसर उद्योग सञ्चालन गरिरहेका छन् । क्रसरका कारण आजित स्थानीयले उर्लाबारी नगरपालिका १ नम्बर वडा कार्यालय, नगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय, प्रदेश संसद, सङ्घीय संसद, १ नम्बर प्रदेश सरकार, सङ्घीय सरकारका गृहमन्त्री, प्रधानमन्त्री केपी ओलीलगायतलाई ज्ञापनपत्र बुझाए पनि हालसम्म कुनै सुनुवाइ नभएको स्थानीयको गुनासो छ ।

मङ्गलबार उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो, इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिना, क्रसर उद्योगका सञ्चालक र स्थानीयबासी बीच छलफल चले पनि स्थानीयवासीले कुनै पनि हालतमा क्रसर उद्योग सञ्चालन गर्न नदिने बताएपछि छलफल निष्कर्षविहीन बन्यो । मेयर फागोले उच्च अदालत विराटनगरले क्रसर उद्योग बन्द नगर्न आदेश आएको बताएका छन् ।

क्रसरका कारण उड्ने धुलो र त्यहाँबाट निस्किने आवाजले बस्न पनि समस्या भइरहेको स्थानीय जगन्नाथ दाहालले जानकारी दिएका छन् । उनले मापदण्ड विपरीत सञ्चालनमा रहेका क्रसरले समस्या ल्याउन थालेपछि आन्दोलित बनेको बताएका छन् । गोविन्द भट्टराईलगायतको समूहको पूर्वेली क्रसर, प्रकाश खड्गी लगायतको समूहको पञ्चेश्वर क्रसर, बवि राईको देवीस्थान मिनिरल्स क्रसर, पंकज शाक्यको सिद्धार्थ एग्रोगेट क्रसर उद्योग स्थापना गरेका छन् । उर्लाबारी–६ का वडासदस्य समेत रहेका सचिन शाक्यलगायतको समूहको माँ पाथिभारा क्रसर उद्योगमा लगानी छ ।

सार्वजनिक स्थल, खोला र मानव बस्तीभन्दा दुई किलोमिटर नजिक क्रसर सञ्चालन गर्न नपाइने मापदण्ड भए पनि त्यसलाई मिचेर क्रसर सञ्चालन गरिएको छ । राजमार्गबाट ५ सय मिटर, खोला किनारबाट ५ सय मिटर, हाइ टेन्सन लाइनबाट १ सय मिटर, शिक्षण संस्था, स्वास्थ्य संस्था, धार्मिक सांस्कृतिक, पुरातात्विक महत्वका स्थान, सुरक्षा निकाय, वन, निकुञ्ज र आरक्ष, घनाबस्तीबाट दुई किलोमिटर दूरीमा क्रसर उद्योग रहनुपर्ने सरकारी मापदण्ड छ ।