देवानगञ्ज (सुनसरी): नेपाली काङ्ग्रेसका नेता तथा सङ्घीय सांसद सीताराम मेहताले अहिले काङ्ग्रेस हारेको तर जनता नहारेको बताएका छन् ।
‘हिमाल पहाड तराई–मधेस, नेपाली काङ्ग्रेस’ राष्ट्रिय जागरण कार्यक्रमलाई सम्बोधन गर्दै मेहताले अहिले संसदमा काङ्ग्रेसको उपस्थिति कमजोर भए पनि काङ्ग्रेसको एजेन्डाको जीत भएकाले नेपाली जनताको जीत भएको बताएका छन् ।
सुनसरीको देवानगञ्जमा आयोजित कार्यक्रममा उनले विगतमा नेपाली काङ्ग्रेसले जनतामाझ गरेका कामलाई प्रचार गर्न अभियान चलाएको बताए । आजबाट शुरु भएको पहिलो चरणको जागरण अभियान जेठ ११ गतेसम्म चल्ने भएको हो ।
अब नेपाली काङ्ग्रेसको जिल्ला कार्यसमिति र भातृ सङ्गठनबीच छलफल गरेर अगाडि बढ्ने उनले बताए । गाउँगाउँ, टोलटोलमा पुगेर अहिले बढेको भ्रष्टाचार र सरकारको रवैयाको विषयमा प्रचार गर्ने उनको भनाइ थियो ।
बीपी कोइरालाले देखेका सपनालाई साकार रूप दिन अभियान सफल हुने उनले बताए । कम्युनिष्टहरूको सरकारले विगतमा र अहिले पनि जनताको अपेक्षाअनुसार काम गर्न नसकेको उनले आरोप लगाए ।
आफूलाई मधेसको मसिहा ठान्ने मधेसवादी दलहरू अब आफैँ पलायन हुँदै जाने उनले बताए । काङ्ग्रेसको नेतृत्वमा शान्ति र संविधान, काङ्ग्रेसकै नेतृत्वमा समृद्धिको अभियान सफल हुने उनले दाबी गरे ।