देवानगञ्ज (सुनसरी): नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले समृद्ध मुलुक निर्माण गर्न खुला हृदयले योजना बनाउन लाग्नुपर्ने बताएका छन् ।

नेपाली काङ्ग्रेसको राष्ट्रिय जागरण अभियान अन्तर्गत सुनसरीको देवानगञ्जमा आयोजित कार्यक्रम लाई सम्बोधन गर्दै उनले दुई तिहाईको दम्भमा परेर स्वेच्छचारिता नअपनाउन आग्रह गरे ।

अहिलेको प्रमुख प्रतिपक्षी काङ्ग्रेस सरकारसँग मिलेर विकास निर्माणमा अगाडि बढ्न तयार भएको बेला प्रधानमन्त्री निषेधको राजनीति गर्न लागेको उनले बताए ।

वाइड बडी प्रकरण, निर्मला पन्त हत्या प्रकरण, बालुवाटार प्रकरणलगायतका धेरै प्रकरणमा प्रधानमन्त्री आफँै दोषीको बचाउमा लागेको उनले आरोप लगाए ।

यसैगरी, भ्रष्टाचार र अत्याचारको बचाउमा सरकार लागेकाले सरकार मात्र होइन देश र लोकतन्त्र नै कमजोर बन्दै गएको उनले बताए । सरकारले गरेका तिनै गलत कामको भण्डाफोर गर्न काङ्ग्रेस महाअभियानमा लागेको उनको भनाइ छ ।

सरकारको रवैयाले देश र जनता चिन्तित हुनुपर्ने अवस्था सिर्जना भएको उनले बताए । सरकार कानुन बनाएर भन्दा चिठी लेखेर नागरिकता वितरण गर्न लागेको पनि उनले बताए ।

‘न्यायाधीशहरू आन्दोलित छन्, पत्रकारहरू गिरफ्तारीमा पर्दैछन्, मानवअधिकारकर्मीहरू आन्दोलनको तयारीमा छन्’, उनले भने, ‘तर, भ्रष्टाचारीको बचाउमा प्रधानमन्त्री आफैँ लाग्नुभएको छ ।’