विराटनगरः विराटनगरको बजरंग भजन मण्डलले आफ्नो रजत महोत्सव भव्यताका साथ मनाउने भएको छ ।
विराटनगरमा बुधबार आयोजना गरिएको पत्रकार सम्मेलनमा आयोजकले आउँदो शुक्रबार ८ बजेबाट सङ्गीतमय रामकथा आयोजना हुने बताएका छन् । कार्यक्रमका संयोजक तुलसी गोयलले शोभायात्रासँगै शुरु हुने कथा वाचन ९ दिनसम्म चल्ने बताए ।
यसका लागि विभिन्न समिति बनाएर तयारीलाई अन्तिम रूप दिइएको संस्थाका पूर्वअध्यक्ष देवकिसन अग्रवालले बताए । २०५१ सालमा स्थापना भएको बजरंग भजन मण्डलले सदस्यको घरमा हरेक शनिबार भजनकीर्तन गर्दै आएको छ । अहिलेसम्म १ हजार ३ सय ४० वटा यस्ता भजन कार्यक्रम भएको अग्रवालले बताए ।