झापाः नेपाल दशनामी समाज केन्द्र, प्रदेश, जिल्ला र नगर समितिले जगतगुरु शङ्कराचार्यको १ हजार २ सय ३० औं जन्मजयन्ती सामुहिक रूपमा मनाएका छन् । समाजको झापा जिल्ला समितिको आयोजना तथा बिर्तामोड नगर समितिको संयोजनमा बिहीबार बिर्तामोडमा शङ्कराचार्यको जन्मजयन्ती मनाइएको हो ।

समाजका झापा वरिष्ठ उपाध्यक्ष एलबी गिरीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय संरक्षक भरतलाल गिरीको प्रमुख आतिथ्यता रहेको थियो । शङ्कराचार्यको जन्मजयन्तीमा समाजका केन्द्र, प्रदेश नं. १, झापा, बिर्तामोड नगर, कनकाई नगरलगायतका विभिन्न समिति तथा दशनामी बन्धुहरूले शङ्कराचार्यको तस्बिरमा फूलमाला, अबिर र गुच्छाले माल्यार्पण गरेर जन्मजयन्ती मनाएका हुन् ।

कार्यक्रममा प्रदेश १ का अध्यक्ष चन्द्रप्रसाद गिरीले शङ्कराचार्यका बारेमा जानकारी गराउँदै कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । अनुसन्धानहरूबाट शङ्कराचार्यको जन्म वि.सं. ७४३ वैशाख शुक्ल तृतीयाको मध्याह्न्न भएको तथ्य रहेको उनले बताए ।

आचार्य शङ्करको नामबाट २२ वटा भाष्यग्रन्थ, ५४ वटा उपदेश र प्रकरण ग्रन्थ तथा ७५ वटा स्तोत्रहरू छन् । शारीरिक भाष्य भने सर्वाधिक महत्वपूर्ण कृति हो । श्रीमदभगवद् गीताको शङ्कर भाष्य आजसम्मकै गीता ग्रन्थको व्याख्याका लागि आधार मानिन्छ । कार्यक्रमको सञ्चालन समाजका बिर्तामोड नगर सचिव उद्धव पुरीले गरेका थिए ।

कार्यक्रममा समाजका प्रदेश १ सहसचिव पदमबहादुर पुरी, ‘प्रकाश’, झापा महिला अध्यक्ष पार्वता गिरी, क्षेत्र नं. २ का अध्यक्ष सूर्यप्रसाद गिरी र बिर्तामोड नगर अध्यक्ष अर्जुन गिरी सहभागी थिए । त्यस्तै, कनकाई नगर अध्यक्ष नारद गिरी, झापा सचिव कुलबहादुर गिरी, जिल्ला सदस्य तारानाथ गिरी, जीतबहादुर वन, नरबहादुर वन, पूर्व बिर्तामोड नगर अध्यक्ष शङ्कर गिरी, पूर्व जिल्ला सदस्य तेजबहादुर गिरीलगायतको उपस्थिति थियो ।