झापाः ‘महाकाली–मेची नेपाल पदयात्रा २०१९’ का ३ जना अभियन्ता बुधबार राति झापा आइपुगेका छन् । महाकालीको चाँदनी दोधाराबाट चैत ३ गते शुरु गरेको पदयात्रा ५३ दिनपछि बुधबार राति बिर्तामोड आइपुगेको हो ।
भेदभाव र छुवाछुतको अन्त्यका लागि सचेतना फैलाउँदै महाकालीबाट पैदल यात्रामा निस्किएका ३ जना अभियन्ताहरू समाजशास्त्री हेमराज आचार्य, सामाजिक अभियन्ता रीता परियार र पत्रकार अशोक दर्नाललाई बिहीबार बिर्तामोडमा स्वागत सम्मान गरिएको छ ।
उनीहरूलाई बिर्तामोडमा दलित अधिकारको क्षेत्रमा क्रियाशील अभियन्ताले बुधबार राति स्वागत गरेका थिए । बिहीबार बिहान बिर्तामोड नगरपालिकाको आयोजनामा सामाजिक क्षेत्रका व्यक्तित्वको उपस्थितिमा स्वागत सम्मान गरिएको थियो ।
बिर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतरा प्रसाईंको अध्यक्षता तथा प्रदेशसभाका सदस्य जसमाया गजमेरको प्रमुख आतिथ्यमा जातीय विभेदविरुद्ध सचेतना फैलाउँदै झापा आइपुगेका अभियन्ताको सम्मान गरिएको हो ।
सो अवसरमा आफ्ना भनाइ राख्तै अशोक दर्नालले विभेद अन्त्यका लागि राष्ट्रिय सन्देश दिन महाकाली–मेची पदयात्रामा निस्किएको र आफूहरूले अड्कलबाजीको साटो वास्तविकता खोज्दै हिँडेको जानकारी दिए । ऐन कानुन बनेर पनि ७९ वर्षदेखि छुवाछुत र जातीय विभेदमा परिरहेको दलित समुदायका व्यक्तिले २०७५ मा मात्र सोही आरोपमा ७ जनाको हत्या भएको सुनाए ।
बितेको ५३ दिनको पदयात्रामा १ सय ३ वटा पालिकाको ब्यनरमा यस्तै कार्यक्रम सम्पन्न भएको सुनाउँदै दर्नालले ९७ वटा ग्रामीण परिवेशमा दलितमाथि हुने गरेका विभेदका बारेमा अध्ययन गर्न सकिएको जानकारी दिए ।
दलित समुदायमाथि विभिन्न बहानामा भेदभाव र छुवाछुत छ भनी त्यही समुदायले भनिरहँदा वास्तविकता के रहेछ भनी आफैं अनुभव गर्न पदयात्रामा निस्किएको समाजशास्त्री होमराज आचार्यले बताए । नेपालको प्रतिष्ठा विदेशमा खराब बन्नुमा यहाँ व्याप्त छुवाछुत नै रहेकाले यसैको सुक्ष्म अध्ययनका लागि आफू पनि पदयात्रामा निस्किएको उनको भनाइ थियो ।
दलित नेता छविलाल विश्वकर्माले सञ्चालन गरेको स्वागत तथा सम्मान कार्यक्रममा नगर उपप्रमुख महतरा, सांसद गजमेर, जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल, अनारमनी प्रहरी प्रमुख डिएसपी सुवास खड्का, व्यवसायी बलराम कार्की र वडाध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले आफ्ना भनाइ राखेका थिए ।