विराटनगर: विराटनगर महानगरपालिकाले बिहीबार एक विज्ञप्ति निकाल्दै स्थायी राजधानी विराटनगर तोकेकोमा प्रदेश १ का सरकारलाई धन्यवाद दिएको छ । प्रदेश १ का मुख्यमन्त्री, मन्त्री तथा मन्त्रिपरिषद्, सभामुख, उपसभामुख र प्रदेश सभा सदस्यमा महानगरले धन्यवाद व्यक्त गरेको हो ।
राजधानी तोकिए पनि व्यवस्थापिका तथा कार्यपालिका विराटनगरभन्दा बाहिर लैजाने भन्ने किसिमका अभिव्यक्ति सार्वजनिक भइरहेकोमा गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाएको छ । बृहत विराट क्षेत्रका नाममा व्यवस्थापिका तथा कार्यपालिका अन्यत्रै सारिएमा विराटनगरवासीको समर्थन नरहने बताउँदै राजधानीका लागि आवश्यक भौतिक पूर्वाधार निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउन महानगर तयार रहेको मेयर भीम पराजुलीले विज्ञप्तिमा उल्लेख गरेका छन् ।