धुलाबारी: नेपाली साहित्य, कला सङ्गीत र ज्येष्ठ सदस्यहरूप्रति पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै ज्येष्ठ नागरिक वडा समिति मेचीनगर–९ ले दुई जना सर्जकसहित ५ दर्जनबढी ज्येष्ठलाई बिहीबार सम्मान गरेको छ ।

मेचीनगर बचत तथा ऋण सहकारी संस्थाको सभाहल धुलाबारीमा ९ नम्बर वडाको १ लाख रुपैयाँको आर्थिक सहयोगमा आयोजित कार्यक्रममा सम्मान गरिएको हो । मेचीनगर नगरप्रमुख विमल आचार्य, उपप्रमुख मीना पोखरेल उप्रेती तथा वडाध्यक्ष गोपाल खड्काले साहित्यकार मात्रिका सङ्ग्रौला र केन्द्रप्रसाद भट्टराईलाई सम्मान गरेका हुन् ।

दुवै जनाले नेपाली साहित्य, कला सङ्गीत र ज्येष्ठ सदस्यहरूप्रति पुर्याएको योगदानको उच्च मूल्याङ्कनको कदर गरेका थिए ।
भट्टराईले रेडियो कार्यक्रम उत्पादन गरेर सन्देशमूलक कार्यक्रममार्फत् ज्येष्ठ नागरिकहरूका भोगाइ, भावना एवम् कथाव्यथालाई प्रशारण गरेर स्वदेश तथा विदेशसम्म पु¥याउन महत्वपूर्ण योगदान गरेको बताइएको छ ।

गीत, सङ्गीत, साहित्य तथा लोकबाजाका माध्यमबाट ज्येष्ठ नागरिकहरूको पीर मर्कालाई समेटेर कृति समेत प्रकाशित गरी मातापिताको सद्भाव र सामाजिक क्षेत्रमा पुर्याएको उत्कृष्ट एवम् अतुलनीय कार्यको उच्च प्रशंसासहित सङ्ग्रौलालाई विशेष सम्मान गरेको बताइएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख आचार्यले ज्येष्ठ नागरिक भनेका समाज र देशकै पूजनीय भएको बताए । उनले स्थानीय सरकार नगरका ज्येष्ठ नागरिकहरूप्रति सदैव सकरात्मक र ज्येष्ठ नागरिकहरूले पाउने सेवा सुविधा प्रदान गर्न सक्रिय भएर लाग्ने बताए । नगर प्रमुख आचार्यले ज्येष्ठ नागरिक समाजका मार्गदर्शक भएको बताए ।

उपप्रमुख मीना पोखरेल उप्रेतीले ज्येष्ठ नागरिक हाम्रा अभिभावक भएकाले उनीहरूले दिएको शिक्षादीक्षा ग्रहण गरेर उनीहरूले देखाएको सकारात्मक गोरेटोमा हिँड्न सक्नुपर्नेमा जोड दिइन् । हरेक ज्येष्ठ नागरिकप्रति हरेक क्षेत्र जिम्मेवार हुनुपर्ने भन्दै उनले यात्रा गर्दाका क्रममा सवारी साधनमा होस या उपचारका क्रममा अस्पतालले ज्येष्ठ नागरिकहरूले पाउनुपर्ने सेवा सुविधा उपलब्ध गराउनुपर्ने बताइन् ।

समितिका अध्यक्ष जय आचार्यको सभापतित्वमा भएको कार्यक्रममा वडाभित्रका ८४ देखि ९९ उमेर सम्मका ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो ।