धनकुटा: प्रदेश राजधानीको माग राख्दै आन्दोलनरत धनकुटेली राजधानीको मागबाट पछि हट्दै मेडिकल कलेजको मागतर्फ मोडिएका छन् ।
विराटनगर स्थायी राजधानी तोकिएपछि असन्तुष्ट धनकुटेली राजधानीको विषयमा पुनर्विचारको माग गर्दै आन्दोलनरत थिए । तर अहिले भने धनकुटेलीको माग केन्द्र तथा प्रदेश सरकारले प्रदेशमा स्थापना गर्ने ५ सय शैयाको मेडिकल कलेजतर्फ मोडिएको हो । मेडिकल कलेजसँगै धनकुटामा कृषि, पर्यटन, शिक्षा आदिको क्षेत्रमा समेत विभिन्न कार्यालय स्थापना गर्न माग गरिएको छ ।
राजधानी बचाऊ अभियान र धनकुटा प्रादेशिक राजधानी अभियान समितिले आज प्रधानमन्त्री तथा मुख्यमन्त्री समक्ष ज्ञापनपत्र नै पठाएका छन् । ज्ञापनपत्रमा धनकुटालाई राजधानी नबनाई धनकुटाको अस्तित्व समाप्त पार्न खोजेको भन्दै धनकुटालाई जीवन्त बनाउनका लागि तत्काल धनकुटामा मेडिकल कलेज स्थापना गर्नुपर्ने माग गरिएको छ ।
त्यस्तै, धनकुटामा एयरपोर्ट निर्माण, प्रदेशस्तरीय विश्वविद्यालय, सीटीईभीटी, श्रम, यातायत, पर्यटन, राजस्व कार्यालय तथा स्टाफ कलेज स्थापना गर्न प्रधानमन्त्री केपी शर्मा ओली र मुख्यमन्त्री शेरधन राईलाई जिल्ला प्रशासन कार्यालयमार्फत् ज्ञापनपत्र पठाएको समितिका संयोजक सुन्दरबाबु श्रेष्ठले जनाए ।
त्यस्तै, अधिकारसम्पन्न यातायात कार्यालयको स्थापना, प्राविधिक शिक्षालय उत्तरपानी र कृषि क्याम्पस पाख्रीबासलाई स्तरोन्नति गर्नुपर्ने, पोलिटेक्निक इन्स्टिच्युटको स्थापना गर्नुपर्ने लगायतका माग पूरा गराउनका लागि ज्ञापनपत्र पठाइएको नेपाल पत्रकार महासङ्घ धनकुटाका अध्यक्ष तथा राजधानी बचाउ अभियानका संयोजक राजेश्वरबहादुर श्रेष्ठले बताए ।
ज्ञापनपत्रमा धनकुटा राजधानी अभियान समितिका संयोजक सुन्दरबाबु श्रेष्ठ, राजधानी बचाऊ अभियानका संयोजक राजेश्वरबहादुर श्रेष्ठ, धनकुटा उद्योग वाणिज्य सङ्घका अध्यक्ष उमेश घिमिरे, घरेलु तथा साना उद्योग महासङ्घ धनकुटाका अध्यक्ष विजयसन्तोषी राई, नेपाल नागरिक समाजका अध्यक्ष दोर्ण गुरागाईंलगायतले हस्ताक्षर गरी धनकुटाका निमित्त प्रमुख जिल्ला अधिकारी सुधीर साफीलाई बुझाइएको छ ।
धनकुटालाई मृत शहरबाट जीवन्त बनाउन प्रस्तुत गरिएका माग तत्काल पूरा नगरिएमा सशक्त आन्दोलन गर्न बाध्य हुने अभियन्ता विजयसन्तोषी राईले जनाए । माग सम्बोधन नभएमा एक हप्तापछि पुनः आन्दोलनमा उत्रने उनले बताए ।