धुलाबारीः धुलाबारी खानेपानी उपभोक्ता समिति मेचीनगरको निर्वाचनबाट निर्वाचित पदाधिकारीहरूलाई पद हस्तान्तरण गरिएको छ ।
निवर्तमान अध्यक्ष इन्द्रबहादुर बुढाथोकीले नवनिर्वाचित अध्यक्ष अजयकुमार घिमिरेलाई अध्यक्षको ब्याच लगाएर तथा अध्यक्षको कुर्सीमा बसाएर पद हस्तान्तरण गराएका थिए । बाँकी पदाधिकारीहरूलाई निवर्तमान पदाधिकारीहरूले पद हस्तान्तरण गराएका थिए ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष घिमिरेले प्रतिबद्धता मन्तव्य तथा निवर्तमान अध्यक्ष बुढाथोकीले बिदाइ मन्तव्य राखेका थिए । आगामी ३ वर्षे कार्यकालको नेतृत्व चयनका लागि भएको निर्वाचनमा नेकपा र नेपाली काङ्ग्रेसको संयुक्त प्यानल लोकतान्त्रिक प्रगतिशील समूहका सवै उम्मेद्वार विजयी भएका थिए ।
समितिको अध्यक्षमा अजय घिमिरे, उपाध्यक्षमा चेतराज विष्ट, सचिवमा कञ्चन तामाङ विजयी भएका थिए । यसैगरी, सदस्यहरूमा धनकाजी खत्री, हिमालय आङ्देम्बे, केशव दाहाल, कृष्ण अधिकारी, राजेश खड्का र लक्ष्मीप्रसाद उप्रेती विजयी भएका थिए । महिला सदस्यहरूमा अम्बिका सङ्ग्रौला भण्डारी र लक्ष्मी श्रेष्ठ विजयी भएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश नम्बर १ का प्रदेश सभा सदस्य गोपालचन्द्र बुढाथोकीले २०४६ सालको राजनीतिक परिवर्तनसँगै नेपाली जनताले शुद्ध र स्वस्थ अनि स्वच्छ पानी उपभोग गर्न पाएको बताए ।