धरानः १९९ औ अन्तर्राष्ट्रिय नर्सिङ दिवस को अवसर पारेर नेपाल नर्सिङ सङ्घ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले शुक्रबार सरस्वती बाल आश्रममा स्वास्थ्य शिविर आयोजना गरेको छ ।

आश्रममा रहेका बालबालिकाको निःशुल्क स्वास्थ्य परीक्षण तथा उपचार गर्ने उद्देश्यले शिविर आयोजना गरिएको नेपाल नर्सिङ सङ्घ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए । शिविरमा प्रतिष्ठानका बालरोग विशेषज्ञ डा. अरुणकुमार सिंहले आश्रमका बालबालिकाको स्वास्थ्य परीक्षण गरेका थिए ।

आश्रममा रहेका २४ जना बालबालिकालाई स्वास्थ्य परीक्षणसँगै स्वास्थ्य शिक्षा पनि दिइएको थियो । आश्रमका बालिकालाई महिनावारी स्वच्छता र बालकहरूलाई शारीरिक स्वच्छताका बारेमा जानकारी दिइएको यादवले बताए ।

स्वास्थ्य परीक्षणसँगै आश्रमका लागि आवश्यक दैनिक उपभोग्य वस्तु र स्वास्थ्यसँग सम्बन्धित सामग्रीहरू साबुन, सेम्पो, सेनेटरी प्याड, औषधी पनि प्रदान गरिएको यादवको भनाइ छ । शिविरमा नर्सिङ सङ्घकी सचिव कृति चौधरी तथा सदस्यहरू पन्ना राई, जमुना भुर्तेल, बिनिता तामांङ र आरती सुब्बा पनि उपस्थित थिए ।