झापाः प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले मुलुकका हरेक समुदायका भाषा, धर्म, संस्कृति लिपिको संरक्षण, समान रूपमा अवसर प्रदान तथा राष्ट्रिय निर्माणको मूलधारमा ल्याउन नसके समृद्धिको नारा खोक्रो हुने बताएका छन् ।
झापाको मेचीनगरमा शनिबारदेखि मेचे जातिको भाषा, संस्कृति तथा साहित्यको संरक्षण र विकास गर्ने उद्देश्यले शुरु दुई दिने ‘प्र्रथम अन्तर्राष्ट्रिय बोडो मेचे साहित्यसभा’ को उद्घाटन गर्दै मुख्यमन्त्री राईले उक्त कुरा बताएका हुन् ।
पहिलो पटक प्रदेश नम्बर १ को झापाको मेचीनगरमा यस्तो कार्यक्रम हुनुले विशेष महत्व रहेको तथा प्रदेश सरकार एवम् प्रदेश नम्बर १ वासीका लागि खुशी र गौरवको कुरा भएको पनि उनले बताए ।
सङ्घीयताको माध्यमले आम नागरिकलाई एउटै मालामा उन्ने काम भएको, सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेको उनको भनाइ थियो । नेपाल १ सय २५ जातजातिको थलो भएको भन्दै १ नम्बर प्रदेशमा मात्र १ सय १६ जातजाति र भाषभाषी मिलेर बस्ने गरेका कारण नेपाल अन्य राष्ट्रका लागि अनुसन्धान गर्ने थलो भएको उनको भनाइ थियो । विभिन्न जातिका धर्म, संस्कृति, कला साहित्यको विकास सम्बद्र्धन संरक्षण र उत्थान गर्ने दायित्व सरकारको रहेको उनको भनाइ थियो ।
नेपालको लोपोन्मुख अतिसीमान्तकृत समुदाय मेचे जातिको आफ्नै कला भाषा, संस्कृति र इतिहास रहेकाले यी सबै कुरालाई जीवन्त राख्नु पहिलो जिम्मेवार प्रदेश सरकार र मुख्यमन्त्री भएको हैसियतले आफ्नो काँधमा रहेको उनको भनाइ थियो ।
मेचे समाज शिवियारी आफात नेपाल, मेचे बोडो साहित्य सभा नेपाल र बोडो साहित्य सभा आसाम भारतले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रमको औचित्यमाथि मेचे समाज शिवियारी आफात नेपालका अध्यक्ष कमल मेचेले प्रष्ट पारेका थिए ।
सम्मेलनमा सङ्घीय सांसद कुमारी मेचे, प्रदेशसभा सदस्यहरू गोपालचन्द्र बुढाथोकी, श्रीप्रसाद मैनाली, वसन्त बानियाँ, मेचीनगर नगरपालिकाका नगरप्रमुख विमल आचार्य, संविधानसभा सदस्य रविन कोइराला, नेकपाका झापा जिल्ला अध्यक्ष चिन्तन पाठक, नेपाली काङ्ग्रेस झापाका उपसभापति राम कट्टेल, आदिवासी जनजाति उत्थान राष्ट्रिय अनुसन्धान अधिकृत सन्तलाल मेचे आसामका एमएलएलगायतले बोलेका थिए ।
उनीहरूले यो सम्मेलनले लोपोन्मुख जातजातिको भाषा, संस्कृति र भेषभूषाको सम्बद्र्धन, देश विकासमा आफ्नो पहिचानसहित मेचे जातिको भाषा, साहित्य र संस्कृतिको संरक्षण र प्रचार, बाह्य तथा आन्तरिक पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । मेचे महिला उत्थान सङ्घकी केन्द्रीय अध्यक्ष रोशनी मेचेले सञ्चालन गरेको उद्घाटन सत्रमा आफतका केन्द्रीय सदस्य रुपेश मेचेले स्वागत गरेका थिए ।
कार्यक्रममा मेचे कलाकाहरूले आफ्नो परम्परागत बाजागाजामा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । सम्मेलनमा नेपाल र भारतका प्रतिष्ठित बुद्धिजीवि, साहित्यकार र संस्कृतिकर्मीको उल्लेख्य सहभागिता रहेको छ । आसामका एमएलएसहित सयौं प्रतिनिधिको उपस्थिति रहेको छ । समूहगत छलफलसहित साहित्य र संस्कृतिसम्बन्धी बृहत् छलफल हुने सभामा नेपालका करिब २२ जातजातिको सांस्कृतिक पहिचान झल्काउने प्रस्तुति रहने बताइएको छ ।