इटहरीः कम उमेरमा नेपाली महिला फुुटवल टीममा सहभागी भएर उत्कृष्ट प्रदर्शन गर्न सफल खेलाडी रेखा पौडेल गृहनगर इटहरीमा सम्मानित भएकी छिन् । उनलाइ इटहरी ६ को स्वागत टोलविकास संस्थाले नगद दश हजारसहित सम्मान गरेको हो ।

टोलको वार्षिक उत्सवको अवसरमा वडाअध्यक्ष दीपक गौतम र संस्थाकी अध्यक्ष भद्राथापामगरले पाैडेललाई सम्मान पत्र प्रदान गरेका थिए । संस्थाकी अध्यक्ष मगरले  महिलाको हिम्मत बढाउने काम गरेको भन्दै कम उमेरमै राष्ट्रिय व्यक्तित्व बन्न सकेकोमा प्रशंसा गरेकी थिइन् ।

संस्थाले हरेक वर्ष विभिन्न विधामा पुरस्कार वितरण गर्नेगर्छ । यो पटक पनि संस्था भित्रका उत्कृष्ट काम गर्ने व्यक्ति, वडा भित्र वुवाआमालाई उचित लालनपोषण गर्ने सन्तान, टोलभित्रका उत्कृष्ट अंक ल्याउने विद्यार्थी र संचारक्षेत्रमा लागेका विभिन्न व्यक्तिलाई सम्मान गरेको थियो ।

प्रमुख अतिथि रहेका प्रदेश एकका सांसद सर्वध्वज साँवा, इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमलगाएतले संस्थाले सामाजिक क्षेत्रमा गरेको अब्बल काममको मुक्तकण्ठले प्रशंसा गरेका थिए ।