इटहरीः नेपाली काङग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले प्रेस स्वतन्त्रता कुण्ठीत गर्ने बिधेयकको विरुद्धमा काङग्रेस खरो उत्रने बताएका छन् । काङग्रेस जागरण अभियान अन्तर्गत सुनसरीको रामधुनीमा आयोजित कार्यक्रम बोल्दै उनले अभिव्यक्ति स्वतन्त्रताको लागी लडेको काङग्रेस यो बेला चुप लागेर बस्न नसक्ने बताए ।
‘दुइतीहाइ बहुमतको सरकार छ भन्दैमा पत्रकार माथि जेल हाल्न खोज्ने ?’, उनले प्रश्न गरे – ‘प्रेस स्वतन्त्रतामाथि आक्रमण हुँदा काङग्रेस चुप लागेर बस्न सक्छ ?’
पत्रकारको मुख बुझो लगाउने काम भइरहेको र शक्तिको बलमा सत्य लुकाउनको लागी यो सबै गरिएको उनको तर्क थियो । विगतमा काङग्रेसले प्रेस र अभिव्यक्ति स्वतन्त्रताको लागी सङ्घर्ष गरेकोले अब त्यो उपलब्धिलाई गुम्न नदिने उनको भनाई थियो । ‘एउटा पत्रकारले आलोचना र टिपणीगर्न नपाउने अवस्था सृजना हुनु भनेको देश अधिनायकवाद तिर उन्मुख नभर के हो ? उनले प्रश्न गरे ।
फरक प्रसङ्गमा उनले अब पार्टी पुन विपी कोइरालाको विरासतको खाँचो रहेको टिप्पणी गरे । विपीको जस्तो वैचारिक विरासत पार्टीमा जरुरी रहेको उनले बताए । गणेशमानको जस्तो त्याग, गिरिजा प्रसादको जस्तो सक्रियता र सुशील कोइरालाको जस्तो शालीनताको विरासतको खाँचो रहेको उनको भनाई थियो ।
‘पार्टी कुनै प्राली नभएकोले शेरबहादुर देउवा र रामचन्द्र पौडेलको बँधुवा मजदुर जस्तो हुनुहँुदैन ।,’ उनले भने ‘कसैको बिचार मनपर्यो भने त्यहीँ अनुसार बोल्ने छुट छ । तर कसैले नराम्रो गरेको थाहा पाईपाई चुप लागेर बस्नु तपाइहरूकै गल्ती देखिन्छ ।’
कार्यक्रममा बोल्ने अधिकांश कार्यकर्ताले पार्टी नेतृत्वप्रतिको गुटगत प्रवृत्ति अन्त्य गर्न सुझाव दिए । पार्टी एक ढिक्का भएर अघि बढ्नुपर्ने बेलामा कम्पनी जसरी झुन्ड झुन्ड रूप देखिएको कार्यकर्ताको प्रतिक्रिया थियो । पार्टीलाई सुदृढ बनाउन भन्दै काँग्रेस राष्ट्रिय अभियानका साथ देशैभर कार्यक्रम गरिरहेको छ ।