धरानः फक्ताङ्लुङ मिडिया हाउस प्रा.लि.द्वारा सञ्चालित एफटीएल अनलाइन टीभीको आयोजनामा भइरहेको प्रदेशस्तरीय एसईई स्टेट–१ आइडलको तेस्रो चरणको अडिसन शनिबार सम्पन्न भएको छ ।

धरान–९ पुतलीलाइनस्थित फ्रेन्डस गार्डेनमा सम्पन्न अडिसनबाट ३२ जना सहभागीमध्ये २१ जना चौथो चरणका लागि छनोटमा परेका छन् । छनोटमा पर्नेमा सुनसरीबाट आस्था विश्वकर्मा, नवीन दर्नाल, तुलसा राई, गौरव राई, रिस्ता पौडेल र प्रकाश मगर रहेका छन् ।

त्यस्तै, पाँचथरबाट साजन गुरुङ र भूमिनन्द नेपाली, इलामबाट कल्पना अधिकारी र दीपक राई रहेका छन् । झापाबाट भुपेन्द्र रनपहेली, राहुल राजवंशी र मिन्ग्सोहाङ केरुङ छानिएका छन् । धनकुटाबाट सुजल शाक्य, दीपकृत मगर र रश्मी शेर्पा रहेका छन् । तेह्रथुमबाट निशा श्रेष्ठ र रोहण श्रेष्ठ तथा मोरङबाट राज लोहार विश्वकर्मा, विवश राई र शिशिर सुन्दास छनोट भएका इभेन्ट म्यानेजर तीर्थ कार्कीले जानकारी दिए ।

चौथो चरणको अडिसन (मेघा राउण्ड) आगामी शनिबार फ्रेन्डस गार्डेनमा हुने प्रविधि व्यवस्थापक जगत राना मगरले जानकारी दिए । प्रतियोगिताका विजेताले नगद ५० हजार रुपैयाँ, एउटा गीत रेकर्डिङ, एउटा म्युजिक भिडियो र प्लस टु अध्ययनका लागि पूर्ण छात्रवृत्ति पाउने प्रालिका अध्यक्ष डम्बरकुमार तुम्बापोले बताए । त्यस्तै दोस्रो हुनेले नगद ३० हजार, विभिन्न आकर्षक पुरस्कार, प्लस टु अध्ययनका लागि ५० प्रतिशत छात्रवृत्ति पाउनेछन । तेस्रो हुनेले नगद २० हजार, अन्य आकर्षक पुरस्कार र प्लस टु अध्ययनका लागि ३० प्रतिशत छात्रवृत्ति पाउने अध्यक्ष तुम्बापोले बताए ।

धरानमा नवोदय र युएन कलेज, विराटनगरमा अरनिको कलेज, इटहरीमा नमुना कलेज, बिर्तामोडमा मनकामना कलेज, दमकमा झापा मोडल कलेज, पथरीमा एभरेष्ट कलेज र काठमाडौंमा जेभियर इन्टरनेसनल कलेजमा सो छात्रवृत्ति पाइने बताइएको छ ।