झापाः नेपाली काङ्ग्रेसका नेता प्रदीप गिरीले काङ्ग्रेसको सिद्धान्तलाई परिमार्जन गर्ने बेला भएको बताएका छन् ।
राष्ट्रिय जागरण अभियानअन्तर्गत झापा क्षेत्र नम्बर– १ काठमाडौं सम्पर्क समितिद्वारा आयोजित कार्यक्रममा उनले केही सैद्धान्तिक पक्षमा परिमार्जनको खाँचो रहेको बताए ।
काङ्ग्रेसले अबलम्बन गरेको नीति र व्यवहार मिल्दोजुल्दो नभएको र त्यसलाई समय र समाजअनुसार बदल्न सक्नुपर्ने उनको तर्क थियो ।
कार्यक्रमका प्रमुख वक्ता रहेका गिरीले काङ्ग्रेसले समयानुकूल आफूलाई परिमार्जन गर्दै लैजानुपर्ने बताए । समाजमा काङ्ग्रेससँगै डाक्टर, इन्जिनियर, कवि, कलाकार छन् तिनका बीच पनि काङ्ग्रेसले आफ्नो कुरा भन्नुपर्छ,’ नेता गिरीले भने, ‘उनीहरुले सुनएका र अनुभूत गरेका कुरादेखि व्यवसाय र पेशाभन्दा माथि उनीहरुमा उत्पन्न मानवीय भावलाई पनि बोध गर्नुपर्छ । अनि सोही अनुभूतिको आलोकमा काङ्ग्रेसको तथाकथित सिद्धान्तलाई नै परिमार्जन गनुपर्छ ।’
त्यस्तै, अन्तर्घात काङ्ग्रेसको मौलिक शब्द भएको देखिएको र यसलाई काङ्ग्रेसले शब्दकोषमा नयाँ शब्द थपेको बताए । काङ्ग्रेसले शब्दकोषको लागि अन्तरघात शब्दको योगदान गरेको उनले तर्क गरे ।
त्यस्तै, काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले काङ्ग्रेसले समाजमा आफ्नो विचार राम्रोसँग सम्प्रेषण गर्न नसकिरहेका बेला जागरण अभियान ठीक समयमा शुरु भएको बताए । उनले सरकारका प्रवक्ता गोकुल बास्कोटालाई लक्षित गर्दै ‘जय नेपाल’ नारालाई स्टालिनको ‘लालसलाम’सँग तुलना गर्न खोजेको आरोप लगाए ।
आफूले चुनाव लड्दा पनि विपक्षीको सम्मानै गरेको बताउँदै प्रवक्ता शर्माले कम्युनिष्टहरुजस्तो ठूलो साम्राज्यवादी अरु नभएको पनि बताए ।
‘साम्राज्यवाद भनेको अमेरिका मात्र होइन । संसारभरी हँसिया हथौडा र लालसलाम फैलाउन खोज्ने र एउटै कम्युनिष्ट पार्टीको शासन खोज्ने दर्शनभन्दा ठूलो साम्राज्यवाद दुनियाँमा छैन,’ शर्माले भने ।