इटहरीः नेपाली काङ्ग्रेसका कार्यकर्ताले पार्टीभित्रको गुटबन्दीको अन्त्य गरिदिन आग्रह गरेका छन् । ‘हिमाल पहाड तराई–मधेस, नेपाली काङ्ग्रेस जागरण अभियान’ अन्तर्गत सुनसरीको झुम्कामा आयोजित कार्यकर्ता भेला कार्यक्रममा गुटबन्दीको अन्त्य गर्न कार्यकर्ताले सुझाएका हुन् ।
नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र केन्द्रीय सदस्य महेश आचार्य उपस्थित कार्यक्रममा अधिकांश कार्यकर्ताले गुटबन्दी कहिले अन्त्य हुन्छ भन्दै प्रश्न गरेका थिए ।
कार्यक्रममा राखिएका अधिकांश गुनासा र सुझाव नेतृत्वमा देखिएको गुटबन्दी अन्त्य गरी पार्टी एकजुट हुनेतर्फ नै केन्द्रित थियो । शुरुमा प्रश्न सोध्ने रामधुनी नगरपालिकाका नगर सभापति सुदीप अधिकारीले नेपाली काङ्ग्रेसले चलाएको जागरण अभियान राम्रो भएको बताए । तर अभियानमा कार्यकर्ताको प्रश्नको उपेक्षा गरियो र कार्यकर्तालाई तेरो मेरो भनेर भागबण्डा गरियो भने पुन काङ्ग्रेसको लागि दुर्भाग्य हुने उनले बताए ।
नेपाली काङ्ग्रेसले पुरानो इतिहासमात्र रटाउने काम गर्न नहुने भन्दै उनले नेताहरूको दैनिक व्यवहारलाई पनि कार्यकर्ताले पढिरहेका कारण कार्यकर्ताले आदर्श मान्ने व्यवहार गर्न नेताहरूलाई सुझाव दिए ।
त्यसपछि कार्यकर्ताको लागि बोल्ने क्रम खुला गरिएको थियो । त्यही क्रममा नेपाल विद्यार्थी सङ्घका नेता विकास केसीले गुटबन्दीले माउ पार्टीदेखि भातृसंस्थासम्म तहसनहस बनाएको तर्क गरे ।
‘यो गुटबन्दी कहिलेसम्म’, प्रश्न गर्दै उनले भने, ‘त्यही गुटबन्दीका कारण नेपाल विद्यार्थी सङ्घ सङ्गठनविहीन भएको छ । अनि तपाईहरू आफैँ जागरण अभियान चलाउँदै हुनुहुन्छ । नेवि सङ्घलाई चलायमान बनाउने दिन कहिले आउँछ ?’
उनीसँगै बोलेका अर्का कार्यकर्ता विपीन भट्टराईले पार्टीभित्रको गुटबन्दीका कारण काङ्ग्रेस भन्दा पनि देउवा काङ्ग्रेस कि पौडेल काङ्ग्रेस भनेर प्रश्न गर्ने अवस्था आएको बताए । यो अवस्थाको हल नभइन्जेल जस्तोसुकै अभियान पनि असफल हुने उनको भनाइ थियो ।
कार्यकर्ताको प्रश्नको जवाफ दिने क्रममा नेता महेश आचार्यले पार्टीभित्र गुटबन्दी भएको तर त्यो बिस्तारै सेलाएर गइरहेको बताए । गुटबन्दीमा भन्दा पनि पार्टीभित्र भइरहेको सक्रियताका आधारमा नेताको समर्थन गर्न उनले सुझाए । अब पार्टीमा पुन बीपी कोइरालाको विरासतको खाँचो रहेको उनले टिप्पणी गरे । बीपीको जस्तो वैचारिक विरासत पार्टीमा जरुरी रहेको उनले बताए । गणेशमानको जस्तो त्याग, गिरिजाप्रसादको जस्तो सक्रियता र सुशील कोइरालाको जस्तो शालीनताको विरासतको खाँचो रहेको उनको भनाइ थियो ।
‘पार्टी कुनै प्रालि नभएकाले शेरबहादुर देउवा र रामचन्द्र पौडेलको बँधुवा मजदुरजस्तो हुनुहुँदै,’ उनले भने, ‘कसैको विचार मन प¥यो भने त्यहीअनुसार बोल्ने छुट छ । तर कसैले नराम्रो गरेको थाहा पाईपाई चुप लागेर बस्नु तपाईंहरूकै गल्ती देखिन्छ ।’
अहिलेको सरकारले प्रेस स्वतन्त्रतामाथि आक्रमण गरिरहेको भन्दै यस विषयमा काङ्ग्रेस मौन भएर नबस्ने उनले बताए । ‘दुई तिहाइ बहुमतको सरकार छ भन्दैमा पत्रकारलाई जेल हाल्न खोज्ने’, उनले प्रश्न गरे, ‘प्रेस स्वतन्त्रतामाथि आक्रमण हुँदा काङ्ग्रेस चुप लागेर बस्न सक्छ ?’ पत्रकारको मुख बुझो लगाउने काम भइरहेको र शक्तिको बलमा सत्य लुकाउनको लागि यो सबै गरिएको उनले बताए ।
कार्यक्रमको अन्त्यमा बोलेका पौडेलले पार्टी शुद्धीकरण अभियानमा आफूहरू लागेकाले विचार र शैलीलाई हेरेर नेतृत्व छान्न आग्रह गरे । नेतृत्व छान्ने जिम्मा स्वयम् कार्यकर्ताको भएकाले आफूलाई नेतृत्व गर्न सक्ने नैतिकवान् नेतृत्व छनोट गर्नुपर्ने उनको भनाइ थियो ।
अहिलेको सरकार संस्थागत भ्रष्टाचारमा मुछिएको भन्दै उनले यो सरकारबाट मुक्ति पाउन जनता आतुर भएको बताए ।