उर्लाबारी: मोरङको उर्लाबारी–८ मा रहेको राजघाट स्वास्थ्य चौकीको नवनिर्मित २ तले पक्की भवन उद्घाटन भएको छ ।

२ करोड २५ लाख रुपैयाँको लागतमा निर्मित सुविधासम्पन्न १६ कोठे स्वास्थ्य चौकी भवनको उद्घाटन गरिएको हो । उर्लाबारीका नगर प्रमुख खड्ग फागोले एक समारोहका बीच भवन उद्घाटन गरे । नेपाल सरकारको अनुदानमा निर्मित सो भवन निर्माणका लागि स्थानीय बासिन्दाले ७ कठ्ठा १२ धुर जग्गा उपलब्ध गराएका छन् । बाँकी १६ धुर जग्गा चन्दा सङ्कलन गरेर खरिद गरिएको बताइएको छ ।

कार्यक्रममा जग्गादाताहरूलाई सम्मान समेत गरिएको थियो । सो स्वास्थ्य चौकीमा ७२ प्रकारका औषधि निःशुल्क वितरण गरिने जनाइएको छ । स्वास्थ्य चौकीमा बिरामीको स्वास्थ्य परीक्षण, परिवार नियोजन सेवा, पोषण सेवा, एकीकृत बालरोग उपचार सेवा, क्षयरोग, कुष्ठ रोग, प्रयोगशाला, नेपाल सरकारको स्वास्थ्यसम्बन्धी राष्ट्रिय कार्यक्रमअन्तर्गत भिटामिन ‘ए’ र हात्तीपाइले रोगविरुद्धको स्वास्थ्य सेवा प्रदान गरिने स्वास्थ्य चौकीका प्रमुख शाहीको भनाइ छ ।

उर्लाबारी–८ का वडाध्यक्ष कुलबहादुर कार्कीको सभापतित्वमा भएको भवन उद्घाटन समारोहमा स्थानीय समाजसेवी, चिकित्सक, शिक्षक, विभिन्न सङ्घ÷संस्थाका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो । भवन उद्घाटनकै अवसरमा सो स्वास्थ्य चौकीमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो ।

विराटनगरस्थित नोबेल अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा ५ सय ४९ जना रोगीको स्वास्थ्य परीक्षण गरिएको वडाध्यक्ष कार्कीले जानकारी दिए ।